ट्रकको ठक्करले बस पल्टियो, २६ यात्रु घाइते

सिरहा । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वा खण्डमा बिहीबार दिउँसो ट्रकको ठक्करले बस पल्ंिटदा बसमा यात्रा गरिरहेका २६ जना यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ७ ख ४९८१ नम्बरको यात्रुबाहक बसलाई बिहीबार दिउँसो करिब १ बजेतिर सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०५००१ ख ००२९ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिएको थियो । ट्रकको ठक्करले बस पल्टिंदा बसका २६ जना यात्रु घाइतेमध्ये १९ जनाको अवस्थामा सामान्य रहेकाले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी घर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक राजु के.सी.का अनुसार दुर्घटनामा घाइते भएका मोरङ्का २१ वर्षीय संयोग ढकाल, नवलपुर गैंडाकोट ठेगाना रहेकी २९ वर्षीया सत्यवती पौडेल, झापा बुद्धशान्तिका ३४ वर्षीय सूर्य न्यौपाने, विर्तामोडका ४० वर्षीय प्रेम खड्का र ५० वर्षीय रेणु खड्का सामान्य घाइते भएपनि आफ्नै घरपायकमा उपचार गराउने भनेपछि विरानगर रेफर गरिएको छ । दुर्घटनामा घाइते भएका धादिङ्का ६० वर्षीय शिवबहादुर थापा र ५५ वर्षीया श्याम खड्कालाई हेटौंडा रेफर गरिएको उनले बताए ।