
सिरहा । पछिल्लो पाँच वर्षदेखि नगरपालिकामा करार सेवा अन्तर्गत कार्यरत कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय सच्याउन माग गर्दै नेकपा (माओवादी केन्द्र) गोलबजार नगर समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
करारका कर्मचारीहरुको म्याद नथप्ने निर्णय २४ घण्टाभित्र सच्याउन मागसहित १ साउनमा दिएको ज्ञापनपत्रको बेवास्ता गरिएको आरोप लगाउँदै माओवादी केन्द्रले बुधबार गोलबजारमा पत्रकार सम्मेलनमार्फत् चरणबद्ध आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा ज्ञापनपत्रको बेवास्ता गरी छलफल र वार्ताको ढोका एक पक्षीय ढंगले बन्द गरिएको आरोप लगाउँदै अन्यायपूर्ण निर्णय विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको उल्लेख छ ।
सिटी जुलुशदेखि तालाबन्दीसम्म
आन्दोलन अन्तर्गत ५ साउनमा मेयरको कार्यकक्ष अगाडि सिटी फुकेर विरोध जनाउने, ६ साउनमा मेयरको कार्यकक्ष अगाडि कालो ब्यानरसहित धर्ना बस्ने, ८ साउनमा मेयरलाई कार्यकक्षमा रोक लगाइने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, ११ साउनको साँझ मसाल जुलुश र पुतला दहन, १२ साउनको बिहान १० बजेदेखि मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिने विज्ञप्तिमा जनाइएको छ ।
म्याद थप नगरिएपछि आन्दोलित करार सेवा अन्तर्गतका कर्मचारीहरु पछिल्लो चार दिनदेखि नगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि शान्तिपूर्ण धर्ना दिइरहेका छन् । आफूहरु बिना कारण निकालिएको भन्दै गोलबजार नगरपालिका करार कर्मचारी संघर्ष समितिले करार कर्मचारी हटाउने अन्यायपूर्ण निर्णय सच्याउन मागसहित १ साउनमा प्रमुख प्रशासकीय अधिकृतमार्फत् नगर प्रमुख श्यामकुमार श्रेष्ठलाई आइतबार ज्ञापनपत्र बुझाएका थिए ।
करार सेवा अन्तर्गत दुई÷दुई जना इञ्जिनियर र सव इञ्जिनियर, एक जना मेडिकल अधिकृत, दुई जना स्टाफ नर्स, छ जना अनमि, चार जना अहेवको करार सेवाको म्याद थप नगरिने नगर कार्यपालिकाको गत ३० असारको निर्णयमा उल्लेख छ । सूचना अनुसार १० जना सहायक कम्प्युटर अपरेटर, एक जना अमिन, १५ जना नगर प्रहरी, दुई जना सुपरभाइजर, एक जना सूचना प्रविधि अधिकृत, एक जना ल्याव असिस्टेन्ट, कृषि÷पशुका तीन जना प्राविधिक सहायक, २० जना कार्यालय सहयोगी र अन्य तीन जना गरी ७५ जना करारका कर्मचारीको म्याद थप नगरिने जनाइएको छ ।