‘प्रेस’ दुरुपयोग नियन्त्रण गर्न प्रशासनलाई महासंघको पत्र

सप्तरी । नेपाल पत्रकार महासंघ, सप्तरी शाखाले अनधिकृत रुपमा सवारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेको भन्दै नियन्त्रणका लागि स्थानीय प्रशासनसँग सहयोग मागेको छ ।
महासंघका शाखा अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले बुधबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई एक पत्र बुझाउँदै प्रेस लेखिएको सवारीसाधन जुनसुकै व्यक्तिले प्रयोग गरेको भएपनि नियम बमोजिम अनिवार्य चेकजाँच गर्न आग्रह गरेका छन् । महासंघको पत्र बुझ्दै प्रजिअ गौतमले प्रेस लेखेर भइरहेको दुरुपायोग यिन्त्रणका लागि आवश्यक सहयोग गर्ने बताए ।
पत्रकार नभएपनि मोटरसाइकलसहितका सवारीसाधनमा प्रेस लेखेर दुरुपयोग गरेको भन्दै नियन्त्रणका लागि प्रयास स्वरुप स्थानीय प्रशासनसँग सहयोग मागिएको शाखा अध्यक्ष देवले बताए । चेकजाँचको क्रममा आवश्यक परे महासंघका अध्यक्ष र सचिवसँग सम्पर्क र समन्वय गरिदिन पत्रमार्फत् आग्रह गरिएको छ ।
‘सप्तरीमा नामै नसुनेका मिडियाहरुको परिचय पत्र बोकेर पत्रकार आचारसंहिता विपरीत काम गरिरहेका छन्’ महासंघका शाखा अध्यक्ष देवले भने ‘त्यस्ता व्यक्तिले एकातर्फ निष्पक्ष पत्रकारिताको बद्नाम गरिरहेका छन् भने सवारीसाधनमा पनि ‘प्रेस’ शब्द लेखेर पत्रकारिताको दुरुपयोग गरिरहेका छन् ।’