तीन दिनमा सप्तरीमा तीन जनाको मृत्यु

सप्तरी । सप्तरी जिल्लाको छुट्टाछुट्टै ठाउँमा भएको घटनामा तीन दिनको अवधिमा एक बृद्धसहित तीन जनाको मृत्यु भएको छ । डाकनेश्वरी, राजगढ र सप्तकोशीमा एक बृद्धसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छुट्याउन गएकी आमा मारिइन्
गत ३० असारको राती करिब साढे १० बजे साइकलमा मल लिएर आउने क्रममा साइकलले बालकलाई छोएको विषयमा भएको विवादमा कुटपिट हुँदा डाक्नेश्वरी नगरपालिका ८ प्रवाहापट्टीटोलकी करिब ६० वर्षीया जिरादेवी मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय गोसाई मण्डलका छोरा करिब २६ वर्षीय मनोज मण्डलले साईकलमा मल बोकेर ल्याउँदै गर्दा स्थानीय बालकलाई साइकलले छोएको भन्दै भएको विवादमा कुटपिट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छोरा कुटिरहेको देखेपछि छुट्याउन गएकी जिरादेवीलाई पनि निर्घात कुटपिट गरी घाइते बनाएपछि तत्काल उद्धार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । उक्त घटनामा संलग्न व्यक्तिहरुको पहिचान एवम् खोजतलाससहित थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
स्कृटी दुर्घटनामा महिलाको मृत्यु
सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरमा शनिबार राती करिब सवा ८ बजेतिर स्टुकी दुर्घटना हुँदा शम्भुनाथ नगरपालिका १० की करिब ३० वर्षीया राजकुमारी साहको मृत्यु भएको छ । डाकनेश्वरी नगरको पत्थरगाढाबाट मधेश प्रदेश–०१–००४ प ३३४७ नम्बरको स्कुटी चढेर राजविराजतर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा साह गम्भिर घाइते भएकी थिइन् ।
गम्भिर घाइते साहलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरी थप उपचारका लागि धरानस्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएर इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सप्तकोशी नगरपािलका ४ तुलसीस्थित चन्द्रनहरमा डुबेर स्थानीय ७० वर्षीय लक्ष्मी सदाको मृत्यु भएको छ । चन्द्रनहर क्षेत्रतर्फ बलारदहस्थित घरबाट गाई चराउन गएका सदा गत शुक्रबार साँझ अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने भोलिपल्ट शनिबार बिहान सप्तकोशी ५ मा पर्ने गंगाजली नजिकको नहरमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।