सप्तरी । सप्तरीको कञ्चनरुपमा लघुकथाको विषयमा प्रशिक्षण संचालन गरिएको छ । लघुकथाकार खेमराज पोखरेलको विशेष उपस्थितिमा शनिबार लघुकथा लेखनबारे प्रशिक्षण संचालन गरिएको हो ।
अमेरिका बस्दै आएका श्रष्टा पोखरेलले सप्तरीको कञ्चनरूपस्थित घर आएका बेला लघुकथाबारे प्रशिक्षण दिएका हुन् । लघुकथा पाठ्य श्रव्य दृष्य प्रतिष्ठान र सगरमाथा साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा पोखरेलले लघुकथा के हो, कस्तो हुनुपर्छ र राम्रो लघुकथाका लागि के के चाहिन्छ लगायतका विषयमा प्रशिक्षण दिए ।
लघुकथाका लागि बढी परिश्रम
प्रशिक्षणपछि सहभागीहरुले सोधेका विभिन्न जिज्ञासाको उत्तर दिंदै पोखरेलले लामा कथा भन्दा लघुकथा लेख्न बढी परिश्रम गर्नुपर्ने औंल्याए । छोटो संरचनामा प्रभावकारी भाव सम्प्रेषण गर्ने लघुकथामा अनावश्यक शब्द नहुने तर सिंगो उपन्यासको विषयवस्तु अट्ने उनले बताए । लघुकथाको प्रस्तुति घटनाको सरासर वर्णन नभएर घटनाको विकास, कथानकको बुनोट, चरित्रको निर्माण, परिवेशको उद्घाटन आदिमा पाठकका मनमा अब के हुन्छ ? अब के हुन्छ ? भन्ने उत्सुकता जागृत भइराख्ने र समापन अत्यन्त प्रभावकारी र पाठकका मनमा लामो समयसम्म अनौठो तरङ्ग सिर्जना गर्ने खालको हुनुपर्ने पोखरेलले उल्लेख गरे ।
माध्यमिक तहसम्म कञ्चनरूपमा पढेका पोखरेलका गुरुहरू तिर्थराज उपाध्याय र शम्भुप्रसाद घिमिरेले पाठ्य शिक्षासँगै मानवताको शिक्षा, ज्ञान, सीप, संस्कार पाउने र प्रयोग गर्ने शिष्यले गुरुहरूलाई गौरन्वानित बनाउने गरेको बताए । सिकाइ र भोगाइको जीवनमा मानिसले जन्मेदेखि मृत्यु पर्यन्त आफूलाई विद्यार्थी सम्झिरहे मात्र ज्ञान बढ्दै जाने गुरुद्वयको भनाई थियो ।
सगरमाथा साहित्य परिषद्का अध्यक्ष एवम् प्रतिष्ठानका एडमिन मनोहर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रगतिशील लेखक संघका अध्यक्ष मेघराज पौडेलले स्वागत गरेका थिए । प्रशिक्षणको प्रतिष्ठान फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । लघुकथालाई जनसाधारणसम्म पुर्याउन गत ३ कात्तिकमा स्थापना भएको प्रतिष्ठानले दैनिक रातको ८ बजे विभिन्न भाषाका लघुकथाको प्रत्यक्ष वाचन गर्दै आएको छ ।
प्रतिष्ठानका सचिव एवम् प्रतिष्ठानका एडमिन नन्दलाल आचार्यद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रममा प्रलेस सचिव ईश्वरी नेपाल, शिक्षकहरू गणेश बस्नेत, लक्ष्मीकान्त चौधरी, डेफोडिल सेकेण्ड्री स्कूलका प्राचार्य दुर्गा निरौला, पत्रकारहरू पुनम पोखरेल, शिव आचार्य, भुपदेव माली, साहित्यकारहरू सन्तोष पौडेल, हेमन्त पौडेल, दिपक दाहाल, दुर्गा पौडेल, केशरा पौडेल, अन्जु पौडेल, पुजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा जन्मिएर अमेरिकामा बस्दै आएका ६६ वर्षीय श्रष्टा खेमराज पोखरेल त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा ३३ वर्ष प्राध्यापन गरी सेवा निवृत्त हुन् । लघुकथाको उन्नयनका लागि सङ्कल्पित पोखरेलका दह्रो लौरो (लघुकथा संग्र्रह– २०७३), पछ्यौरीको आइसक्रिम (लघुकथा संग्र्रह– २०७३), ऊनको डल्लो (कथा संग्र्रह– २०७३), मोलुङ लघुकथा संग्र्रह (सम्पादन– २०७३), पमाहा (कथा संग्र्रह– २०७५). सिमानामा आमा (लघुकथा संग्र्रह– २०७५), राम शाहको चौतारो (लघुकथा संग्र्रह– २०७५), श्रीवल्ली (२०७९), निवन्ध संग्र्रह– २०६६), सडक र बुढो सिमल (कविता संग्र्रह– २०७३) सहित १४ कृति प्रकाशित छन् ।