बर्खामा सुकुम्बासी दलितको उठीबास गराउने प्रयास

सप्तरी । सप्तरीको खडक नगरपालिका २ दुहवी गाउँमा अदालतको आदेश भन्दै ऐलानी जग्गामा बस्दै आएका सुकुम्बासीको घर हटाउन खोजिएपछि महिलाहरुले प्रतिवाद गरेका छन् । अदालतका कर्मचारी, प्रहरीसहितको टोलीसँग स्थानीय सुकुम्बासी महिलाहरुले घर भत्काउन प्रतिवाद गरेपछि जग्गा खाली गराउन फेरि आउने व्यहोराको मुचुल्का उठाएर टोली फर्किएको छ ।
स्थानीय अमहा खोलाको पूर्वतिर दुहवी गाउँ जाने सडकको उत्तरी किनारको डेढ कठ्ठा ऐलानी जग्गामा ३० वर्षभन्दा बढी समयदेखि ५० वर्षीय बेचु सदाय घर बनाएर बसोवास गर्दै आएको स्थानीय गाउँलेहरु बताउँछन् । ऐलानी जग्गासँगै जोडिएको उत्तरतिर दुहवी गाउँका चौठी साहुले मुद्दा मामिला गरेर आफूहरुको उठीबास गराउँदा उनको तीन कठ्ठा नम्बरी जग्गाको मूल्य बढ्ने र खाली ऐलानी जग्गा पनि कब्जा गर्ने षड्यन्त्र गरिरहेको सदाय बताउँछन् ।
पटक पटक घर भत्काउन खोजियो
स्थानीय बुढापाकाका अनुसार सडक किनारको उत्तरतिर रहेको दुई बिघा तीन कठ्ठा १९ धुर ऐलानी जग्गामा १९ घर सुकुम्बासीको बस्ती छ । वर्षौंदेखि बस्दै आएका सुकुम्बासीमध्ये सदायको घर भत्काउन १८ असार (शनिबार) तेस्रो पटक डोर टोली आएको बेचुकी बुहारी जितनीदेवीले बताइन् । ‘त्यसदिन गाउँमा मजदूरी गर्न गएको थिएँ, घर अगाडि प्रहरी र सादा पोसाकका मान्छेहरु देखिएपछि हस्याङ् फस्याङ् गर्दै घर फर्किएँ’ उनले भनिन् ‘घर भत्काउन आएको डोर टोली र प्रहरीसँग घम्साघम्सी पर्यो ।’


उनका अनुसार गत पुस, चैतमा पनि घर खाली गर्न आएकाहरुलाई स्थानीय गाउँलेहरुले समेत रोकेपछि टोली त्यसै फर्किएको थियो । ‘हरेक तीन/ चार महिनामा घर भत्काउन आउँछन्’ उनले भनिन् ‘अब फेरि कहिले र कुन बेला आउने हुन् भन्ने त्रासमा छौं ।’
खडक २ का निवर्तमान वडा सदस्य समेत रहेका स्थानीय बिल्टु सदायले सार्वजनिक जग्गा खिचोलाको मुद्दामा सुकुम्बासी दलितलाई फसाएर साहु जग्गा हड्पिने दाउमा रहेको बताए । ‘पीडित परिवारले घरदेखि पूर्वतिरबाट साहको निजी जग्गामा आवतजावतका लागि करिब १५ फिट मोहडा भएको जग्गा बाटोका लागि खाली नै छोडिदिएका छन्, उनलाई त्यतिले नपुगेर घर रहेकै जग्गामा आँखा लगाएपछि पटक पटक घर हटाउने प्रयास गरिरहेका छन् ।’
वर्तमान वडाध्यक्ष हरेराम मण्डलले आफूले थाहा पाएदेखि नै कतै जमिन नहुँदा ऐलानीमा घर बनाएर सदाय परिवार बस्दै आएको बताए । ‘मजदूरी गरेर बिहान बेलुकाको छाक टार्दै गएका सुकुम्बासी गरिबलाई सबै मिलेर सघाउनु पर्नेमा उल्टै दुःख दिनु राम्रो होइन’ वडाध्यक्ष मण्डलले भने ‘अदालतको आदेश पनि पालना हुने र सुकुम्बासीको पनि सुरक्षा हुनेगरी निकास खोज्नु पर्छ ।’
नाबालिकाको हात भाँचियो
मजदूरी गरेर ११ जनाको परिवार पाल्दै आएका सदायको झुपडी भत्काउन १८ असार (शनिबार) दिउँसो प्रहरीसहित सप्तरी जिल्ला अदालतको डोर टोलीसँग स्थानीय दलित महिलाहरुको घम्साघम्सी परेको गाउँलेहरु बताउँछन् । त्यही क्रममा शम्भुनाथ कचन्दाहा गाउँ घर भई मावलीमा बस्दै आएकी करिब पाँच वर्षीया अस्मिको देब्रे हातको कुहिनानिर भाँचिएको हजूरआमा कारोदेवी सदायले बताइन् ।
‘नाता पर्नेको घर भत्काउन खोजेको थाहा पाएपछि दौंडिंदै आएँ, त्यही बेला नातिनी पनि आएकी थिइन्, प्रहरीसँग घम्साघम्सी हुँदा लडेर हात नै भाँचिएछ’ उनले भनिन् । ऋणकर्जा गरेर लहान पुर्याइ छ हजार रुपैयाँ खर्चिएपछि ब्याण्डेज गराएर ल्याएको उनले बताइन् ।


इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बलस्टर सिंहले अदालतले सहयोगका लागि पत्र पठाएकाले डोर टोलीलाई सघाउन मात्र आफ्नो युनिटबाट प्रहरी पठाइएको बताए । ‘डोर टोलीले घर भत्काउने पाँच जना मान्छे पनि ल्याएको थियो’ प्रहरी निरीक्षक सिंहले भने ‘स्थानीय महिलाहरुले प्रहरीलाई अगाडि बढ्नै नदिएपछि डोर टोलीले अर्को पल्ट आउने गरी मुचुल्का उठाएर फर्कियो र प्रहरी पनि फर्किएको हो ।’