आगलागीमा करिब २५ लाख रुपैयाँको क्षति

सप्तरी । जिल्लाको दक्षिणी छिन्नमस्ता गाउँपालिका ५ कोचाबखारीमा शुक्रबार बिहान भएको आगलागीमा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शुक्रबार बिहान करिब ३ बजेतिर स्थानीय महेन्द्र कामैतको गोठमा बालेको घुरबाट सल्किएको आगोले चार जनाको घर, पशु चौपाया, घरमा रहेका सरसामान जल्दा २४ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको हो । कामैतको गोठबाट सल्किएको आगोले उनको घरसहित तीन भाई छोराहरुको घर, सरसामान, पशु चौपाया लगायतका सामान जलेको सप्तरी प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
आगलागीमा कामैतको घर, एक थान बाख्रासहित घरायसी सरसामान गरी चार लाख, उनका छोरा शंकर कामैतको घर, एक थान बाख्रा र घरायसी सरसामान गरी पाँच लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा शत्रुधन कामैतको घरसहित बाख्रा, घरायसी सामानसहित १० लाख ५० हजार र भरत कामैतको घरसहित सामान जल्दा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजविराज नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान करिब ५ बजेतिर निभाइएको प्रहरीले जनाएको छ । आगलागीको विषयमा अन्य थप अनुसन्धान भइरहेको जानकारी दिंदै प्रहरीले आगलागी पीडितहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेको जनाएको छ ।