
सिरहा । आगामी ३० वैसाखमा हुने स्थानीय तहको निर्वाचनमा आफूलाई टिकट नदिएको भन्दै सिराहाको लहान नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका नगर अध्यक्षद्वयले पार्टी परित्याग गरेका छन् ।
एमाले लहान नगर अध्यक्ष समेत रहेका लहान ११ का निवर्तमान वडाध्यक्ष राजकुमार साहले जिल्ला पार्टी अध्यक्ष चण्डेश्वर मण्डललाई सम्बोधन गरी पत्र पठाउँदै पार्टीको नगर अध्यक्ष र साधारण सदस्य समेत नरहने गरी मतदान प्रकृयामा समेत भाग नलिने जनाएका छन् । पार्टी अध्यक्षलाई पठाएको पत्रमा नगर प्रमुखको मुख्य सहयोगी रहे तापनि उम्मेदवार चयन सम्बन्धी मापदण्डलाई बेवास्ता गरी जसरी भएपनि उम्मेदवार हुन नदिने षड्यन्त्र, पार्टीको विधि, पद्धति, नीति विरुद्ध भएको र नगरमा प्रभावकारी काम गर्न नदिने उद्देश्य रहेकाले पार्टी नगर अध्यक्ष र साधारण सदस्य समेत नरहेको उल्लेख छ ।
एमालेले केही बाहेक लहानका अन्य वडाका वडाध्यक्षमा पुरानै अनुहारलाई निरन्तरता दिएपनि आफूमाथि षड्यन्त्र गरी लहान ११ मा अन्यलाई टिकट दिएको आरोप लगाएका छन् ।
टिकट खोसिएपछि कांग्रेसका नगर अध्यक्ष जसपामा
लहान २४ को वडाध्यक्ष पदका लागि क्षेत्र नं. १ संसदीय समितिको सिफारिशमा पाएको टिकट जिल्ला सभापति रामचन्द्र यादव र केन्द्रीय सदस्य चित्रलेखा यादवको मिलेमतोमा खोसिएको आरोप लगाउँदै कांग्रेस लहान नगर कार्य समितिका सभापति रासलाल राय राजपुतले कांग्रेस परित्याग गरेका छन् । मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन सोमबार मध्यान्हसम्म टिकट फिर्ताको मागसहित अल्टिमेटम दिएका रायले टिकट नपाएपछि जनता समाजवादी पार्टी प्रवेश गरी लहान २४ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
निर्माण व्यवसायी संघ लहान सिराहाका अध्यक्ष समेत रहेका रायले सोमबार बिहान पत्रकार सम्मेलनमार्फत् पार्टीको जिल्ला तथा केन्द्रीय नेतृत्वलाई निर्णय सच्याउन आग्रह गर्दै अन्यथा आफू अन्य दलबाट उम्मेदवारी दिने चेतावनी दिएका थिए ।
अधिकांशमा पुरानैको निरन्तरता
राष्ट्रिय मान्यता प्राप्त मुख्य दलहरुले जिल्लाका अधिकांश स्थानीय तहमा पुरानै अनुहारलाई निरन्तराता दिएका छन् । एमालेले लहानमा निवर्तमान मेयर मुनि साह सुडी र उपमेयरमा सरियारकुमारी चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले क्षेत्रीय सभापति महेश चौधरीलाई मेयर उठाएको छ भने जनता समाजवादी पार्टीले उपमेयरमा दुई जनाको उम्मेदवारी दिएको छ ।
धनगढीमाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित निवर्तमान मेयर हरिनारायण चौधरी र उपमेयर फुलकुमारी श्रेष्ठलाई पुनः उम्मेवार बनाएको छ भने एमालेबाट स्थानीय तह निर्वाचन २०७४ मा तेस्रो स्थानमा रहेर पराजित भएका शिवशंकर महतोलाई मेयर र उपमेयरमा शोभा बराललाई उठाएको छ । कांग्रेसका जिल्ला सभापति समेत रहेका संविधानसभा सदस्य रामचन्द्र यादव स्वयम् धनगढीमाईको मेयरको उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित गोलबजारका निवर्तमान मेयर देवानाथ साह र उपमेयर रेशमकुमारी थापा, मिर्चैयाका मेयर श्रवणकुमार यादव, कर्जन्हाका मेयरगंगा पासवान र उपमेयर ज्ञानकुमारी श्रष्ठ पुनः उम्मेदवार बनेका छन् । कर्जन्हामा एमालेबाट भोला पोखरेल र निर्मला पासवान क्रमशः मेयर उपमेयरको उम्मेदवार बनेका छन् । जिल्ला सदरमुकाम समेत रहेको सिरहा नगरपालिकामा जनता समाजवादी पार्टीबाट निवर्तमान मेयर अशेश्वर यादव पुनः मेयर र जसपाकी महिला नेतृ दलित समुदायकी शशिमित्रा माझी मुसहरले उपमेयरको उम्मेदवारी दिएका छन् ।
जिल्लाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका र गोलबजार नगरपालिकामा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परेको छ । कर्जन्हामा युगेश्वर राउत मेयर र कल्याणी ढुंगानाले उपमेयरमा बागी उम्मेदवारी दिएका हुन् । त्यस्तै, गोलबजार नगरपालिकामा रामचन्द्र महतो मेयर र बासना मोक्तानले उपमेयरमा स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिएका छन् ।
जिल्लामा पन्ध्र सय बढीको उम्मेदवारी
जिल्लाको आठ नगरपालिका र नौ गाउँपालिकाका कुल आठ सय ५४ सिटका लागि निर्वाचन आयोगमा दर्ता भएका दल र स्वतन्त्र गरी एक हजार पाँच सय २६ जनाको मनोनय दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ । जिल्लाको १७ स्थानीय तहको प्रमुख/ अध्यक्षमा एक सय २४, उपप्रमुख/उपाध्यक्षमा ७५, वडाध्यक्षमा तीन सय ६८, वडा सदस्यमा चार सय ६८, महिला सदस्य दुई सय ३६ र दलित महिला सदस्यमा दुई सय ४० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनका अनुसार मनोनयन दर्ता गर्ने अन्तिम दिन सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारहरुले बुझाएकोे फाईल रुजु गरी दर्ता भइरहेको छ ।