जातीय छुवाछूत गर्नेलाई कैद र जरिबाना, पीडितलाई क्षतिपूर्ति भराइने

सप्तरी । कानुनी रुपले बन्देज रहेको जातीय छुवाछूत गर्ने सप्तरीका पाँच जनालाई सप्तरी जिल्ला अदालतले कैद र जरिबानाको फैसला सुनाएको छ ।
नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरीको बोदेबर्साइन नगरपालिका ८ काचनका पाँच जनालाई अदालतले बुधबार कैद र जरिबानाको फैसला सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले बोदेबर्साइन ८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिबानाको सजाय फैसला सुनाएको हो ।
जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपी पाँच जनालाई नै जनही पाँच÷ पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तथा पीडितलाई ५०÷५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
डिहवारमा पूजा गर्न जाँदा कुटपिट
२०७४ असार १३ गते अपरान्ह ग्राम डिहबार थानमा असारी पूजा गर्न गएका स्थानीय ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेवी दास तत्मालाई आरोपी पाँच जनाले ‘तल्लो जातले थानमा पसेर पूजा गर्ने’ भन्दै कुटपिट गरेका थिए । मन्दिर जस्तो सार्वजनिक स्थलमा जातीय रुपले कुटपिट गरेको भन्दै पीडित दम्पतीले त्यही साँझ बोदेबर्साइनस्थित इलाका प्रहरी कार्यालय र असार १४ गते जिल्ला प्रहरी कार्यालयमा जातीय छुवाछूत विरुद्ध जाहेरी दिएका थिए । कुटपिटबाट लिलाधरको कुमको हड्डी भाँचिएको थियो भने उनकी श्रीमती दुखनीको शरीरको विभिन्न भागमा चोटपटक लागेको थियो ।
कुटपिटमा घाइते लिलाधरको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हुँदै विराटनगरमा कुम हड्डीको शल्यक्रिया गरिएको थियो । पूजा गर्न मन्दिर गइरहेका बेला ‘तँ कथित तल्लो जात मन्दिरभित्र पस्न खोज्ने’ भन्दै कुटपिटसहित पूजाको सामान समेत फालिदिएको आरोपमा जातीय छुवाछूत र कुटपिट अंगभंग मुद्दा दर्ता भए लगत्तै प्रहरीले पक्राउ गर्न खाजेको थियो । आरोपीहरु फरार भएपछि जिल्ला अदालतले २०७४ भदौ २८ गते म्यादी पूर्जी जारी गरेको थियो ।