दुधौलीमा सुकुम्बासीलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा

सिन्धुुली । वर्षौंदेखिको थातथलोको कानुनी स्वामित्व नहुँदा सुकुम्बासीको रुपमा रहँदै आएका दलित समुदायका स्थानीय मुसहरहरुलाई धग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।
पूर्वी सिन्धुलीमा पर्ने दुधौली नगरपालिकाको मुसहर बस्तीमा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य एवम् भूमि व्याबस्था तथा सहकारी मन्त्री शशि श्रेष्ठ, राष्ट्रिय भूमि आयोग सिन्धुलीका जिल्ला अध्यक्ष समेत रहेका माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामकुमार पौडेलले संयुक्त रुपमा मुसहरहरुलाई लालपूर्जा वितरण गरेका हुन् ।
आयोगका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, दुधौलीका प्रमुख घनश्याम राउत लगायतको उपस्थितिमा स्थानीय एक सय छ घरधुरी मुसहरहरुलाई लालपूर्जा बाँडिएको हो । मन्त्री श्रेष्ठले सबै सुकुम्बासीलाई जग्गाधनी बनाउने नीति अनुरुप सरकारले योजनाबद्ध रुपमा मुलुकका विभिन्न जिल्लाका सुकुम्बासीहरुलाई लालपूर्जा बाँड्दै आएको बताइन् । ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई आयोगको स्थानीय समितिले गरेको जग्गा नापी र सिफारिशको आधारमा लालपूर्जा दिन्छौं’ उनले भनिन् ।