
सप्तरी । जनता प्रगतिशील पार्टी नेपालले सामाजिक सुरक्षा भत्ता रकम तत्काल वितरण गरी ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका व्यक्ति, बालबालिकासहित सिमान्तकृत समुदायप्रति सम्मान गर्न आग्रह गरेको छ ।
जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य हेमशंकर सिंह राजपुतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई भइरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रकम वितरण गर्न माग गरेका हुन् । जिल्लाका अन्य स्थानीय तहमा सामाजिक सुरक्षावापत्को दुई किस्ता रकम वितरण गरी तेस्रो किस्ताको रकम बाँड्ने तयारी भइरहँदा तिलाठी कोईलाडीमा एक किस्ता रकम मात्र बाँडिएको विज्ञप्तिमा उल्लेख छ ।
‘जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका व्यक्ति बालबालिकासहित सिमान्तकृत समुदायको सुरक्षाका लागि राज्यले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग गाउँपालिकाले समयमा वितरण नगर्दा ज्येष्ठ नागरिकहरुको औषधि उपचारमा समेत कठिनाई उत्पन्न हुने गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘तसर्थ कुनै पनि बहानामा ढिलाई नगरी समयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न जनता प्रगतिशील पार्टी नेपाल विनम्रतापूर्वक आग्रह गर्दछ ।’