
कालिकोट । जिल्लाको प्रशासनदेखि सुरक्ष व्यवस्थापनसम्मको मुख्य जिम्मेबारीका रहेका प्रमुख जिल्ला अधिरकारीहरु गाउँका जनताको पीरमर्का बुझ्न प्रायः गाउँ पुग्न भ्याउँदैनन्, विशेष कार्यक्रमबाहेक । काम विशेषले जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कायालय पुग्ने सर्वसाधारणले प्रजिअलाई भेट्न समय मिलाएरै जानुपर्छ तर कालिकोटका प्रजिअ रामहरि शर्मा गत पुसको अन्तिम साता कार्यालयमा हाजिर भएयता कार्यालयको काम व्यवस्थापन गरी प्रायः समय मिलाएर जनताको पीरमर्का बुझ्न गाउँघर पुगिहाल्छन् ।
प्रजिअ भएर जिल्ला पुगे लगत्तै कर्णाली करिडोरको स्थलगत निरीक्षण गर्न भ्याएका शर्मा फागुनको २३ देखि २५ गतेसम्म आफ्ना केही कर्मचारीसहित सुरक्षा निकायका प्रमुखलाई लिएर जिल्लाको दुई स्थानीय तहको वडा कार्यालय पुगेर जनतालाई गरिएको सेवा प्रवाह र समसामयिक विषयमा प्रत्यक्ष कुराकानी गरेका थिए । प्रजिअ शर्मासहितको टोलीले तिलागुफा नगरपालिकाका केही वडा र महाबै गाउंपालिकाका प्राय सबै क्षेत्रको स्थलगत अवलोकन तथा स्थानीय स्तरमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागिता जनाएको हो ।
प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने र केही कर्मचारीसहितको प्रजिअ शर्माको टोलीले तिलागुफा नगरपालिका ९, १० र ११ तथा महाबै गाउँपालिका ५ का वडा अध्यक्षसहित जनप्रतिनिधिहरुसँग समसामयिक विषयमा छलफल गरेको थियो । उक्त टोलीले दुवै स्थानीय तहका सम्पूर्ण मतदान स्थलहरूको स्थलगत अवलोकन तथा वस्तुस्थितिको जानकारी लिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
टोलीले महाबै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहको अध्यक्षतामा स्थानीय सम्पूर्ण राजनीतिक दल, सरकारी÷गैर सरकारी संघ संस्था र स्थानीयसँग आसन्न निर्वाचन, विकास, शान्ति र सुरक्षा लगायतका विषयमा छलफल अन्तरक्रिया गरेको थियो । टोलीले महाबैमा कार्यालय स्थापना गरी सामुदायिक सशक्तिकरणको काम गरिरहेको ओदा फाउण्डेसनको अवलोकन गरी स्थानीय प्रहरी चौकीहरुको स्थलगत निरीक्षणसहित आवश्यक निर्देशन दिइएको जनाइएको छ ।