
सिरहा । प्रेम विवाह गरेको महिना दिन नपुग्दै घर आएकी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलनमार्फत् श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका कर्जन्हा नगरपालिका ७ का २३ वर्षीय अमर राउतलाई सार्वजनिक गरेको छ । राउतले १६ फागुनमा काठमाडौंबाट आफूलाई भेट्न आएकी करिब २२ वर्षीया पूजा सिंह भनिने पूजाकुमारी पोद्दारको प्रेमनगर गाउँदेखि पश्चिमतिर पर्न कमला नदीको बगरमा पर्ने काँस घारीमा घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
यसरी भएको थियो हत्या
काठमाडौं महानगरपालिका २०, जैसीदेवलमा परिवारसहित बस्दै आएकी पूजाको करिब एक वर्षअघि राउतसँग फेसबुकमार्फत् चिनजान भएको थियो । कानुनको विद्यार्थी समेत रहेकी पोद्दार ल फर्महरुमा समेत काम गर्दै आईरहेको पाइएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक कतारमा रहेका राउत गत १३ माघमा काठमाडौं उत्रिएपछि २७ माघमा पूजासँग भद्रकाली मन्दिरमा विवाह गरी वाफलमा डेरा लिएर बस्दै आएका थिए ।
त्यसपछि आफूले गरेको विवाह घर परिवारले स्वीकार नगरेको बहानामा ‘कनिभन्स गरेर तिमीलाई लिन आउँछु’ भन्दै गाउँ आएका राउत नफर्किएपछि पूजा १६ फागुनमा उनको घर खोज्दै बस्तीपुर आएकी थिइन् । श्रीमानको घर खोज्दै बस्तिपुर चोकमा ओर्लिएर अमर राउतलाई फोनमार्फत् आफू बस्तिपुर चोकमा रहेको र लिन आउनु भनेपछि अमरले ‘अहिले बाहिर छु, साँझ लिन आउँछु’ भनेको जनाइएको छ ।
साथीसँगको सल्लाहमा हत्या
अन्तरजातीय विवाह गरेको भन्दै परिवारले पुजालाई घर नभित्र्याउने अडान लिएको परिवारले अमरको सहमतिमा १९ फागुनमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका तुल्सियाहीकी युवतीसँगे दोस्रो विवाहको तयारी भइरहेको थियो । पूजा अमरलाई खोज्दै आएपछि तीन दिनपछि हुन विवाह भाँडिने भयले उनले साथीहरुसँग सल्लाह गरी योजना बनाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साथीहरुसँगको सल्लाह अनुरुप १६ फागुनको साँझ बस्तीपुर चोक आएर पूजांलाई आफ्नो घर लैजाने बहानामा कमला नदी किनारमा पुर्याई अमर लगायतले घाँटी थिची हत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न अमरलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट आठ दिनको म्याद लिई थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।