सिरहा । माइतीबाट घर फर्किन अटोरिक्सा चढेकी महिलालाई अटोरिक्सामै जबर्जस्ती करणीको प्रयास गरिएको घटनालाई स्थानीय दलीय प्रतिनिधि र प्रहरीको मिलेमतोमा मिलाउने प्रयास भइरहेको पीडितकी आफन्तले गुनासो गरेका छन् ।
सिरहाको अर्नमा गाउँपालिका १ महनौर बजारबाट बुधबार अपरान्ह अटोरिक्सा चढेर गोलबजारतिर आउँदै गरेकी करिब २४ वर्षीया महिलालाई चालकले जबरजस्ती करणी प्रयास गरेको घटना मिलाउन दलीय प्रतिनिधिहरु बुधबार रातीदेखि नै सकृय रहेकाले प्रहरीले बिहीबार साँझसम्म पनि जाहेरी लिएको छैन । इलाका प्रहरी कार्यालय गोलबजारले करिब २५ वर्षीय अटोरिक्सा चालक आफूहरुको नियन्त्रणमा रहेको तर पीडितको तर्फबाट कुनै जाहेरी नपरेको जनाएको छ ।
गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक राजु के.सी.ले बुधबार साँझ स्थानीयले नियन्त्रणमा लिएर बुझाइएका चालक आफूहरुकै नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘पीडितलाई किटानी जाहेरी लिएर आउन भनेका थियौं, बिहीबार साँझसम्म पनि आउनु भएको छैन ।’
यस्तो छ घटना
समयकै घर पुगिसक्नु पर्ने भएकाले अटोरिक्सा चढेर गोलबजारतिर हिंडेकी महिलालाई चालकले बाटोमा संवेदशील अंगमा हात हालेपछि प्रतिवाद गर्न खोजेपनि जबर्जस्ती करणीको प्रयास गरेको पीडित महिलाले बताइन् । अटोरिक्सामा आफू एक्लै रहेकाले चालकले गलत फाइदा उठाउन खोजेको भएपनि आफूले प्रतिवाद गरेपछि गोलबजार नगरपालिका ४ को सीमा नजिक आएपछि धकेलिदिएको उनले बताईन् ।
‘मलाई धकेलेर अगाडि बढेको अटोरिक्सा करिब २० मिटर पर रोकेर पुनः चालक म लडेको ठाउँमा फर्किएर जबर्जस्ती गर्न खोजे, मैले प्रतिवाद गरेपछि लछारपछार गर्न थाले’ उनले भनिन् ‘त्यसपछि चिच्याउँदा बाटोमा हिंडेकाहरुले रोकिएर चालकलाई नियन्त्रणमा लिई गोलबजार प्रहरीमा बुझाएका हुन् । गुडिरहेको रिक्साबाट खसालिदिएपछि देब्रे हात र दाहिने खुट्टामा गहिरो चोट लागेकी उनको गोलबजारकै एक निजी क्लिनिकमा उपचार भईरहेको छ ।