मतदाता नामावली अद्यावधिक सम्बन्धी प्रकुया शुरु

सिरहा । जिल्ला निर्वाचन कार्यालय सिरहाको आयोजनामा आगामी ३० वैसाखमा हुने स्थानीय तहको निर्वाचनका मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) सम्बन्धी प्रकया शुरु भएको छ ।
निर्वाचन कार्यालयले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सिरहाको सभाकक्षमा अन्तक्र्रिया गरी फागुन १९ गतेदेखि प्रकृया शुरु हुने जानकारी दिएको हो । अन्तक्र्रियामा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक पर्ने बताए । ‘निर्वाचनको तयारी अन्तर्गत सबैको आ–आफ्नो जिम्मेबारी अनुसारको काम थालनी भएको छ’ प्रजिअ कवारीले भने ‘यद्यपि मतदाता नामावली संकलनको क्रममा पर्याप्त जनशक्ति नहुँदा जिल्लामा अझै १० देखि १५ प्रतिशत उमेर पुगेका मतदाताको नाम छुटेको अनुमान छ ।’
त्यसरी छुटेकाहरुले आगामी स्थानीय तहको निर्वाचनमा मत खसाल्न नपाउने भएपनि त्यसपछि हुने संघ र प्रदेशको निर्वाचनका लागि पुनः नामावली संकलन हुने भएकाले त्यसका लागि तयारीमा रहन प्रजिअ कवारीको आग्रह थियो । ‘मतदाता नामावलीमा रहेकाहरुलाई पनि सचेत बनाउन सबैले भूमिका खेलौं’ उनले भने ‘विशेषगरी मतदाताहरुलाई सचेत बनाउन संचारमाध्यम र संचारकर्मीहरुले प्रयास गरौं ।’
नेकपा एमालेका जिल्ला सचिव डा. नविन यादव, नेपाली कांग्रेसका रामबाबु यादवले अन्तक्र्रियामा मतदाता नामावलीमा नाम रहेका तर परिचयपत्र हराएका, बसाईसराई गरेर एउटै स्थानीय तहको अर्को वडामा गएकाहरुले मत हाल्न पाउने नपाउने बारेमा जिज्ञासा राखेका थिए ।


अद्यावधिक : कहिले र कसरी ?
अन्तक्र्रियामा जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले स्थानीय तहको निर्वाचनमा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) को विषय केन्द्रित प्रस्तुतीकरण गरेकी थिइन् । प्रस्तुतीकरणको क्रममा जिल्ला निर्वाचन अधिकारी यादवले १९ फागुनदेखि २६ सम्म हुने मतदाता नामावली अद्यावधिकको विषयमा जिल्लाका स्थानीय तहहरुलाई सूचना पठाइसकेको जानकारी दिंदै सूचना अनुसार गर्न गराउन हुन आग्रह गरिन् ।
सूचना अनुसार १९ फागुनमा मतदाता नामावली प्रकाशन गरिने, फागुन २० देखि २२ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन निवेदन दिने, कसैले झुठो विवरण दिई नाम लेखाएको भए सोको उजुरी दिने, एकभन्दा बढी ठाउँबाट नाम लेखाएको भए एक ठाउँको मात्र नाम कायम गर्न निवेदन दिन सकिने छ । त्यस्तै, फागुन २० देखि २३ गतेसम्म मृत्यु भएका वा नागरिकता त्यागेकाहरुको नाम भए हटाउन निवेदन दिने, बसाइ सरेका, मृत्यु भएका, नागरिकता त्याग गरेका, नागरिकता रद्द भएकाको विवरण स्थानीय पदाधिकारीबाट प्राप्त गर्ने सूचनामा उल्लेख छ ।
फागुन २० देखि २४ गतेसम्म झुठो विवरण विरुद्ध परेको उजुरीको विषयमा सफाइको मौका दिने, मृत्यु भएका, नागरिकता त्यागेका र बसाई सरी अन्यत्र गएकाहरुको नाम हटाउने, नागरिकता त्यागेका वा रद्द भएकाको नाम हटाउन आवश्यक छानबिन गरी प्रमुख नाम दर्ता अधिकारी समक्ष पठाउने, सूचना/ निवेदन नभएपनि बसाई सरेको, मृत्यु भएको, नागरिकता त्यागेको वा रद्द भएको प्रमाणित भए नाम हटाइने छ ।
त्यस्तै, फागुन २४ देखि २५ गतेसम्म झुठो विवरण भरी नाम लेखाएको विरुद्ध परेको उजुरी, सम्बन्धित व्यक्तिले दिएको सफाइको आधारमा नाम हटाउने वा राख्ने बारेमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने, फागुन २५ गते मतदाता विवरणमा भएको त्रुटीको बारेमा जाँचबुझ गरी त्रुटी सच्याउने, त्रुटी सच्याएको, एकभन्दा बढी ठाउँमा भएको नाम हटाइएको, बसाई सरेको, नागरिकता त्यागेको वा रद्द भएको सूचना जिल्ला निर्वाचन कार्यालयमा प्रकाशन गरिने छ ।
फागुन २६ गते एकभन्दा बढी ठाउँबाट दोहोरो भएको नामको विषयमा उजुरी प्राप्त भए सो विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको छुट्टै विवरण आयोगमा पठाइने छ ।