आयो नुन सम्बन्धी जनचेतनामूलक कार्यक्रम

सिरहा । साल्ट ट्रेडिङ् कर्पोरेसन लहान शाखाको आयोजनामा आयो नुन सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
साल्ट ट्रेडिङ् परिसरमा सोमबार ‘आयो नुन, औषधिको गुण,आयो नुन अखाऔं, स्वस्थ्य रहौं, आयोडिन मन्थ सफल पारौं’ भन्ने नारासहित आयो नुन सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा साल्ट ट्रेडिङ्का लहान शाखा प्रमुख जितेन्द्रकुमार साहले फेब्रुअरी महिनालाई विश्वभर आयोडिन सम्बन्धी अभियान चलाइने भएकाले नेपालमा पनि आयोडिन उपलब्ध हुने आयो नुन सम्बन्धी जनचेतना कायक्रम गरिएको बताए । जिल्लाका दक्षिणी सीमावर्ती गाउँ बस्तीमा अझै पनि भारतीय नुनको प्रयोग भइरहेको चर्चा गर्दै प्रमुख साहले त्यसमा मानिसर बस्तुभाउलाई चाहिने आयोडिन नपाइने बताए ।
‘नुनको प्याकेटमा आयोडिन लेखिएको भएपनि जाँच गर्दा हुँदैन’ उनले भने ‘नुन उपभोग सबैले गर्छन् तर त्यसमा आयोडिन कम्तिमा १५ पिपिएम हुनुपर्छ ।’ साल्ट ट्रेडिङ्ले बिक्री वितरण गरिरहेको दुई बालबालिका चिन्ह अंकित आयो नुन प्याकेटिङ् गर्दा ५० पिपिएम रहने भएपनि ढुवानी, भण्डारण गर्दा तातोले उड्दा समेत भान्सामा प्रयोग गर्ने बेलासम्म १५ पिपिएम आयोडिन रहने उनके भनाई थियो । भारतीय नुन र आयो नुनमा आयोडिन छ कि छैन भन्ने विषयमा उनले टेस्ट किटबाट जाँच्दा आयो नुनमा खैरो रङ् देखिएको थियो भने भारतीय नुनको रङ् बदलिएको थिएन ।
के हो आयोडिन ?
माटोमा पाइने एक प्रकारको लवण आयोडिनले मानिस तथा जनावरको शरीरको बृद्धि तथा विकास गर्छ । मस्तिष्क, सम्पूण स्नायु प्रणालीलाई राम्ररी संचालन गर्न आयोडिनको आवश्यकता पर्दछ । गलगाँड, सुस्त मनस्थिति, शारीरिक तथा मानसिक बृद्धि विकासमा कमी, वामपुड्के, स्मरण शक्ति कमजोर भई पढाईमा कमजोर हुने, गलगाँडले हिंडडुल र बोल्न अप्ठ्यारो हुने भएकाले मानसिक चिन्ता र हीनताबोध हुने जस्ता समस्या देखिने हुन्छ ।
त्यसका साथै गलगाँड ठूलो हुँदा श्वास नली थिचिएर मानिसको मृत्यु समेत हुन सक्ने जोखिम हुन्छ । गर्भवती महिलामा आयोडिनको कमी भएमा गर्भमा रहेको बच्चा मर्ने जोखिम हुन्छ । नुन मानिस तथा गाईबस्तु सबैलाई चाहिने बस्तु हो । धनी, गरिब, ठूलो सानो सबैलाई नुन चाहिने भएकाले नुनमा मिसाएर दिंदा शरीरले निरन्तर पाइरहने हुन्छ ।