
सिरहा । खेतीपातीको बेला मल नपाए पनि जसोतसो खेती गर्दा लागत मूल्य समेत उठाउन समेत गाह्रो पर्न थालेकाले किसानले खेती गर्नै समस्या भइरहेको गुनासो गरेका छन् ।
साल्ट ट्रेडिङ् कर्पोरेसन लहान शाखाले सोमबार लहानमा गरेको रसायनिक मलको व्यवस्थापन सम्बन्धी अन्तक्र्रियामा अगुवा किसानहरुले गुनासो गर्दै भने ‘सरकारले आयात गर्न नसक्दा मल बिक्री गर्ने साल्ट ट्रेडिङ् र कृषि सामग्री कम्पनी लिमिटेड जस्ता संस्थाले बाँड्नै रोकेपछि किसानले कसरी खेतीपाती गर्ने ?’ सिराहाको सुखीपुर नगरपालिका २ छजनाका किसान बीरेन्द्र भण्डारीले कृषि प्रधान मुलुकका किसानले खेतीपातीकै बेला चरम् मल अभाव खेप्नु परेपछि खेती लगाउनै गाह्रो भइरहेको बताए ।
स्थानीय मिलिजुली कृषि सहकारी संस्थाका संचालक समेत रहेका भण्डारीले भने ‘स्थानीय तहमा मल बिक्रीको डिलर लिएका कृषि सहकारीका संचालकले नै बद्मासी गरेर मल नआएको भन्दै किसानहरु घेराउ गर्न आउँछन्, साह्रै अप्ठ्यारोमा परेका छौं ।’ सिराहाको भगवानपुरस्थित लक्ष्मीनारायण कृषि सहकारी संस्थाका व्यवस्थापक रामनारायण साहले भने ‘किसानले बढी प्रयोग गरिरहेका डिएपी, युरिया र पोटास धानको सिजनमा पनि अभाव भयो, गहुँको सिजनमा त झन् युरिया एक गेडा पनि पाइएन ।’
‘अन्तर्राष्ट्रिय बजारमै मल अभाव’
अन्तक्र्रियामा साल्ट ट्रेडिङ्का सल्लाहकार भगवान खतिवडाले अन्तर्राष्ट्रिय बजारमै मल अभाव भएकाले सरकारले खरिद गर्न नसक्दा मल आपूर्ति रोकिएको बताए । संघीय कृषि मन्त्रालयका सेवा निवृत्त सहसचिव समेत रहेका सल्लाहकार खतिवडाले भने ‘सरकारले दिएको बजेट बमोजिम साल्ट ट्रेडिङ् र कृषि सामग्रीले मल खरिदका लागि आह्वान गरेको टेण्डर नै कसैले भरेनन्, अनि कसरी मल आउँछ मल, अनि किसानले पाउनु ?’
साल्ट ट्रेडिङ्ले २५ हजार मेट्रिक टन युरियाको रकम भुक्तानी गरिसक्दा पनि इण्डियन पोटास लिमिटेडले उपलब्ध गरउन नसकेको उल्लेख गर्दै उनले भने ‘मल उत्पादनका लागि चाहिने प्राकृतिक ग्यास उत्पादकहरुले मल उत्पादन कटौती गरेका छन्, माग अनुसार उत्पादन नभएपछि भारतमै मल नपुगेकाले नेपालले मल पाएको छैन ।’
‘करिब छ वर्षअघि छ अर्ब ३० करोड सरकारी अनुदानको रकमले दुई लाख ५० हजार मेट्रिक टन मल किन्न सकिन्थ्यो, अहिले एक लाख मेट्रिक टनको अन्तर्राष्ट्रिय बजारमा १३ अर्ब रुपैयाँ हाराहारी पर्ने भएपछि मल अभाव भएको हो’ उनले भने ‘आगामी खेतीको सिजनमा रसायनिक मल अभाव हुने निश्चित भएकाले त्यसको बिकल्पमा प्राङ्गारिक, कम्पोष्ट मल हालेर खेतीपाती गर्नुको बिकल्प छैन ।’
माग पाँच लाख, आपूर्ति अढाई लाख मेट्रिक टन
उनका अनुसार नेपालमा वर्षे र हिउँदे बालीका लागि अढाई लाख मेट्रिक टन युरिया, एक लाख ५० हजार ३३ मेट्रिक टन डिएपी र एक लाख मेट्रिक टन पोटास गरी पाँच लाख मेट्रिक टन रसायनिक मल आवश्यक पर्छ । ‘तर एक लाख ५० हजार मेट्रिक टन युरिया, एक लाख मेट्रिक टन डिएपी र ५० हजार मेट्रिक टन पोटास गरी गरी अढाई लाख मेट्रिक टन मात्र आउँथ्यो, अनि कसरी हुन्छ आपूर्ति सहज ?’
जिल्लामा धान र गहुँ खेतीका लागि वार्षिक रुपमा चार लाख बोरा (२० हजार मेट्रिक टन) युरिया, दुई लाख ५० हजार बोरा (१२ हजार पाँच सय मेट्रिक टन) डि.ए.पि. चाहिने भएपनि माग अनुसार आपूर्ति नहुँदा खेतीपातीको समयमा प्रायः हरेक वर्ष मलको अभाव हुने गरेको साल्ट ट्रेडिङ्का लहान प्रमुख जितेन्द्र कुमार साहले बताए ।