
सप्तरी । सामान्य घर व्यवहारका लागि गिरहतसँग लिएको ऋणवापत् बँधुवाको रुपमा काम गर्न बाध्य हरवा चरवाको नेतृत्व क्षमता विकास गरी आफ्नो हक अधिकारका लागि संगठित गर्ने उद्देश्यले सप्तरीको सुरुङ्गा नगरपालिका ४ कनकपुरमा संचालन गरिएको दुई दिने हरवा चरवाको लागि नेतृत्व क्षमता विकास सम्बन्धी तालिम शनिबार सम्पन्न भएको छ ।
सुरुङ्गा नगरपालिका ४ वडा कार्यालयको आर्थिक सहयोगमा जनचेतना दलित संगमद्वारा संचालित तालिममा वडा क्षेत्रमा बसोवास रहेका हरवा चरवाको सहभागिता थियो । तालिममा दलित र हरवा चरवाका सवाल, नेतृत्व, त्यसको आवश्यकता, एकल र सामूहिक नेतृत्व, हरवा चरवाको सन्दर्भमा सामूहिक नेतृत्व किन र कसरी, सामूहिक नेतृत्वको अभ्यासको विषयमा समूहगत छलफल, अभ्यास र प्रस्तुतीकरण गरिएको संगमका कार्यकारी निर्देशक गणेशप्रसाद रामले बताए ।
कार्यकारी निर्देशक रामका अनुसार हरवा चरवाका सवाल, समस्या, एकल र सामूहिक नेतृत्व, हरवा चरवाको सवालमा सामूहिक नेतृत्वको आवश्यकता र विधि, हरवा चरवाको अवस्था, समस्या र चुनौती, हरवा चरवाको नेतृत्व विकासका लागि जनसंगठनको भूमिका, नेपालमा बँधुवा प्रथा विरुद्ध गरिएका नीतिगत व्यवस्था जस्ता विषयमा पत्रकारद्वय मणिलाल विश्वकर्मा र राजकुमार राउतले सहजीकरण गरेका थिए । त्यस्तै अधिवक्ता केशरलाल खङ्ले हरवा चरवाले लड्दै आएका मुद्दा र न्यायिक प्रकृया, कानुनी व्यवस्थाको विषयमा सहजीकरण गरेका थिए ।
तालिमका सहभागीहरुले स्थानीय स्तरमा रहेका हरवा चरवाका समस्या सम्बन्धित निकायबाट आगामी चैतभित्र गर्ने प्रयाससहित कार्ययोजना निर्माण गरेको संगमले जनाएको छ । तालिमको उद्घाटन सत्रमा सुरुङ्गा ४ का वडाध्यक्ष देवेन्द्रप्रसाद चौधरीले हरवा चरवाको आयआर्जन, क्षमता विकासका लागि वडा कार्यालयले गरिरहेको सहयोग जारी रहने प्रतिबद्धता जनाए ।