सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो

सप्तरी । जलिय जैविक विविधता संरक्षण गर्न सप्तरी र सुनसरी जिल्लाको सीमाको रुपमा रहेको सप्तकोशी नदीमा सोमबार ३० हजार माछाका भुरा छोडिएको छ ।
प्रकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडा मकवानपुरको आयोजनामा कोशी नदीमा रहु र नैनी प्रजातिका ३० हजार माछाका भुरा नदीमा छाडिएको हो । माछाका भुरा छोड्ने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामचन्द्र खतिवडाले कोशी नदीमा बढ्दो पदूषणले माछाको कमी हुँदै गएकाले स्थानीय प्रजातिका माछाका भुरा छाडिएको बताए ।
‘कोशी नदीमा माछाको भुरा छोडेकाले जलाशयहरुको स्तरबृद्धि र माछा मार्ने मलाह समुदायको आयआर्जनमा सकारात्मक योगदा पुग्ने छ’ वार्डेन खतिवडाले भने । साना माछा मार्ने काम गरेमा माछाको बृद्धि विकासका समस्या हुने बताउँदै कोशी नदीमा आरक्षको पहलमा यसअघि २० वटा घडियाल गोही समेत छाडिएको उनले बताए । ‘माछा र घडियाल गोहीको संरक्षण गर्नुपर्छ’ उनले भने ।
स्थानीय समुदायको आयआर्जन
जलिय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर बृद्धिका लागि स्थानीय प्रजातिको माछा नदीमा छाडिएको प्रकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवम् संरक्षण केन्द्र हेटौडाका कार्यालय प्रमुख सरोज कुमार यादवले बताए । खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगायतका कारणले जलचर मासिने क्रम बढेको चर्चा गर्दै यादवले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकास गर्न पहल गरिएको बताए ।
‘मेचीदेखि महाकालीसम्म कार्यक्षेत्र रहेकाले नदीनालाको अध्ययन गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछाको प्रबद्र्धन गर्न भुरा छोड्दै आएका छौं’ उनले भने । नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशय रहेको उल्लेख गर्दै उनले देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताए । प्राकृतिक जलाशयमा चार लाख जनसंख्या निर्भर रहेको उनले बताए ।


‘जलाहारी बोटे लगायतका समुदायको आयस्तर विकास गर्न र नदीनालाबाट माछा मारेर जीवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम संचालन गरिएको हो’ उनले भने ‘यसले पानीमा आश्रित गोही लगायतका जनावरलाई समेत फाईदा पुग्छ ।’ कार्यक्रममा हनुमानगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता यादव, मत्स्य विकास केन्द्र फतेपुरका प्रमुख भुपनारायण मण्डल, पत्रकार भुपदेव माली र राससका समाचारदाता अरुण कुमार यादव लगायत स्थानीय बासिन्दाहरुको समेत उपस्थिति थियो ।