
सिरहा । कोरोना महामारीले चुलो बाल्न समेत समस्या झेलिरहेका गरिब बिपन्नलाई राहत बाँड्दा बाँड्दै स्वयम् कोरोना संक्रमित भई निधन भएकी श्रीमतीको स्मृतिमा लहानका समाजसेवी महेश चौधरीले शनिबार एक सय थान कम्बल वितरण गरेका छन् ।
गरिब बिपन्न बस्तीमा राहत बाँड्ने क्रममा संक्रमित भएर गत २२ जेठमा श्रीमती संगिता कर्माचार्यको निधन भएयता समाजसवी चौधरीले हरेक महिनाको २२ गते गरिब बिपन्नका लागि खाद्यान्न, लत्ताकपडा, गर्भवती सुत्केरीलाई पोषिलो खानेकुरा बाँड्दै आएका छन् । त्यही क्रममा शनिबार चौधरीले संगीता कर्माचार्य स्मृति प्रतिष्ठनमार्फत् लहान नगरपालिका ४, १९, ११ र २२ नं. वडा क्षेत्रका एक सय जना गरिब, बिपन्न, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित समुदायलाई कम्बल बाँडेको उल्लेख गरे ।
त्यसअघि २२ पुसमा लहान १२ को भोटियाटोल, १५ को ढोढना, २२ सिसवनी र २४ को माणिकदहस्थित दलित बस्तीमा दुई सय थान कम्बल बाँडेको चौधरीले बताए । ‘अप्ठ्यारोमा परेका गरिब, बिपन्नहरुलाई सहयोग गर्दै आएकी श्रीमतीको कोरोना संक्रमणको कारणले निधन भएपछि उनको परोपकारी कामलाई निरन्तता दिन सहयोग अभियानलाई निरन्तरता दिएको हुँ’ समाजसेवी चौधरीले भने ।