
सिरहा । किसानको माग पूरा गराउन भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखि गरेको पूर्व पश्चिम राजमार्ग बन्द स्थगित गरी स्थानीय तह केन्द्रित कार्यक्रम गर्ने भएको छ ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले शुक्रबार कन्द्रीय कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्दै बिहीबार रातीदेखि आँधीबेरी, असिना र वर्षात्सहित मौसम अति प्रतिकूल रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टा मौसमले साथ दिए अनुसार गाउँपाकिाल÷नगरपालिका केन्द्रित अन्तक्र्रियामूलक कार्यक्रम गर्न आग्रह गरेका छन् । कार्यक्रममा सम्बन्धित स्थानीय तहका किसानहरुसँग छलफल संवाद गरी अन्य पार्टीको समेत समर्थन लिने गरी कार्यक्रम गर्न आग्रह गरिएको छ । मौसम अनुकूल भएपछि १ फागुनदेखि आन्दोलनको अर्को कार्यक्रम तालिका सार्वजनिक गरिने जनमत पार्टीले जनाएको छ ।
सरकारलाई ११ बुँदे माग पेश
जनमत पार्टीले किसानको माग सम्बेधन गर्न उच्च स्तरीय समिति गठन गरिनु पर्ने, समयमै मलखाद र बीउविजनको व्यवस्था गरिनु पर्ने, निःशुल्क बिजुलीको व्यवस्था गरी सिंचाईको प्रबन्ध गरिनु पर्ने लगायतका ११ बुँदे मागसहित शुक्रबार संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई माग पत्र बुझाएको छ ।
पार्टी अध्यक्ष सिके राउतको हस्ताक्षर रहेको मागपत्रमा हावाहुरी र वर्षाका कारण क्षति भोगेका किसानलाई राहतको व्यवस्था गरिनु पर्ने, कृषि उत्पादनको उचित मूल्य निर्धारण गरिनु पर्ने, उखु किसानको बक्यौता रकम भुक्तानी गरिनु पर्ने उल्लेख छ । त्यस्तै, किसानलाई कार्डको व्यवस्था गरी सोही कार्डको आधारमा सीमा नाकाको बजारबाट सामान ल्याउन पाउने व्यवस्था गरिनु पर्ने, किसानलाई पेन्सनको व्यवस्था गरिनु पर्ने, स्वतः बाली बीमाको व्यवस्था गरिनु पर्ने, किसानमाथि लगाइएको मुद्दा खारेज गरिनु पर्ने र पक्राउ गरिएका आन्दोलनकारीलाई बिना शर्त रिहा गरिनु पर्ने जनमतको माग छ ।