वर्षात्सहितको हावाहुरीले तीन जनाको मृत्यु

धनुषा । पश्चिमी वायुको प्रभावको कारणले शुक्रबार वर्षात्सहित हावाहुरी चल्दा धनुषा र रौतहटमा दुई बालिका र एक महिला गरी तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहानैदेखि वर्षात्सहित हावाहुरी चलेपछि पूर्वी धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द मा.वि.को प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा किचेर दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीया अरबन्दी सदा छन् । हावाहुरीले रुख ढल्दा दुवै बालिकाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।
त्यस्तै, हावाहुरीले घर ढल्दा रौतहटको बौधीमाई नगरपालिका १ अजगैवीकी ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।