काठमाडौं । पछिल्लो छ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिबृद्धि तथा स्वतन्त्र र जिम्मेबार प्रेसको क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपाल अन्तरराष्ट्रिय नेटवर्क मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ ।
प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तरर्राष्ट्रिय संस्थाहरूको संजालको रुपमा रहेको नेटवर्कमा सदस्य चयन भएको मिडिया एक्सन नेपालबाट पहिलो र दक्षिण एशियाबाट प्रतिनिधित्व गर्ने दोस्रो संस्था रहेको जनाइएको छ । नेटवर्कले मिडिया फ्रिडम कोलिसन सम्बन्धी काममा सल्लाह दिनुका साथै राज्यको हस्तक्षेप आवश्यक छ भन्ने विश्वास गरिएका सवालहरुको छनोटमा सहजीकरण गर्ने मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए ।
स्वतन्त्र र निर्भिक रुपले काम गर्न सहकार्य
मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको समस्यालाई नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र विश्वका धेरै देशले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष पन्तले भने ‘मडियाले स्वतन्त्र र निर्भिक रुपले काम गर्ने वातावरण बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक छ ।’ नेटवर्कमा मिडिया एक्सनको चयनबारे जानकारी दिदै उनले व्यापक नागरिक समाज र मिडिया अधिकारको परिप्रेक्ष्यमा कन्सल्टेटिभ नेटवर्कमार्फत् मिडिया फ्रिडम कोलिसनलाई सहयोग प्रदान गरिने बताए ।
नेटवर्कले प्रेस स्वतन्त्रता विशेष जोखिममा रहेका देशहरूको विषय र पत्रकार वा मिडिया आउटलेटहरू खतरामा रहेका मामिलाहरू कारबाहीका लागि प्रस्तुत गर्नुका साथै मिडिया स्वतन्त्रता र मिडिया विकासका लागि वर्तमान र भविष्यका मुद्दाहरूमा सल्लाह दिने जनाइएको छ । नेटवर्कमा मिडिया एक्सनसँगै आर्टिकल १९, कमिटि टु प्रोटेक्ट जर्नालिस्ट्स, डि डब्लु एकेडेमी, फ्रि प्रेस अनलिमिटेड, आइफेक्स, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेसनल मिडिया सपोर्ट, इन्टरन्युज युरोप, पाकिस्तान प्रेस फाउन्डेशन, पब्लिक मिडिया एलायन्स, रिपोर्टरस विदाउट फ्रन्टियर्स, कम्बोडियन सेन्टर फर ह्युमन राइट्स र द गार्जियन लगायतका विश्वका २२ संस्थाहरु आबद्ध रहेको अध्यक्ष पन्तले उल्लेख गरे ।