क्यानाडामा कठ्याङ्ग्रिएर भारतीय परिवारको मृत्यु

काठमाडौं । अवैध रुपले अमेरिका छिर्न खोजेको एक भारतीय परिवारका चार जनाको क्यानाडाको सीमावर्ती शहरमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।
अमेरिकासँग सीमा जोडिएको क्यानाडाको सीमावर्ती मनिटोबा शहरमा चिसोले कठ्याङ्ग्रिएर भारतका ३९ वर्षीय जगदीश पटेल, उनकी श्रीमती ३७ वर्षीया वैशालीबेन पटेल र छोरी ११ वर्षीया छोरी बिहांगी र तीन वर्षीय छोरा धार्मिकको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । क्यानडाका अधिकारीहरुलाई उद्धृत गर्दै संचार माध्यमहरुले भारतीय परिवारका चार जनाको मृत्यु मानव तस्करीसँग जोडिएको उल्लेख गरेका छन् ।
पटेल परिवार १२ जनवरीमा विमानबाट क्यानाडाको राजधानी टोरन्टो पुगेपछि पश्चिमी क्यानडाको मनिटोबा गएको बताइएको छ । त्यसपछि १८ जनवरीमा क्यानाडाको सीमावर्ती शहर इमर्सनमा पुगेका पटेल परिवारको शव भोलिपल्ट राती मनिटोबा नजिकै भेटिएको संचार माध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकाको सीमासँग जाडिएको क्यानडाको सीमावर्ती शहर मनिटोबा पुगेपछि पैदल हिंडेरै अमेरिका जान खोज्ने क्रममा माइनस ३५ डिग्री सेल्सियस तापक्रम पुगेपछि चिसोले कठ्याङ्ग्रिएर चार जनाको मृत्यु भएको हो ।