
सिरहा । युएन ओमनसँगको सहकार्यमा दलित महिला संघ सिरहा शाखाले जिल्लाका विभिन्न स्थानीय तहका दलित समुदायका गर्भवती, अपांगता भएका महिला तथा असहाय ज्येष्ठ महिलाहरुलाई न्यानो कम्बल वितरण गरेको छ ।
संघले आइतबार सिरहाको कर्जन्हा नगरपालिका ५ का अपाङ्गता भएका, दलित समुदायका गर्भवतीहरुलाई शाखा सचिव राजकुमारी सदा र दलित महिला जनप्रतिनिधिहरुमार्फत् संयुक्त रुपमा २८ थान न्यानो कम्बल वितरण गरेको हो । न्यानो कम्बल पाएपछि शीततलहरसँगै बढेको चिसो छल्न सहज हुने गर्भवती महिलाहरुले बताए ।
त्यसअघि संघले सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा, लक्ष्मीपुरपतारी लगायतका स्थानीय तहमा एचआइभि संक्रमित महिलासहित गर्भवती, अपाङ्गता भएका महिला तथा ज्येष्ठ असहाय महिलालाई ७६ थान न्यानो कम्बल वितरण गरेको संघकी जिल्ला अध्यक्ष शान्ति पासवानले जानकारी दिइन् ।