समान ज्याला कायम गर्न प्रतिबद्ध छौं : अध्यक्ष साह

सिरहा । कृषि मजदुरी गरेर जीविका चलाईरहेका हरवा चरवाले समान ज्याला नपाएको गुनासो गरिरहेका बेला सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साहले समान ज्याला कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
द फ्रिडम फण्डको सहयोगमा दलित जनकल्याण युवा क्लवद्वारा मंगलबार गाउँपालिकाको सभाकक्षमा आयोजित ‘हरवा चरवाको सवालमा कृषक र सरोकारवालाहरुसँगको अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गाउँपालिका क्षेत्रमा रहेको ज्यालाको विद्यमान अवस्थाको विषयमा हरवा चरवासँग मिलेर अगाडि बढ्न तयार रहेको बताए । ‘कुन ठाउँमा कति ज्याला छ, त्यसको बारेमा अध्ययन गरी गाउँपालिकामा सुझाव पेश गरिए त्यसको आधारमा गाउँकार्यपालिकाले निर्णय गरी समान ज्याला कायम गरिने छ’ अध्यक्ष साहले भने ।
गरिब, बिपन्न, असहायहरुका लागि गाउँपालिकाले विभिन्न समयमा गर्दै आएका राहतमुखी कामहरुमा खान लाउन पुग्नेहरुले समस्यामा पार्ने गरेको गुनासो गर्दै अध्यक्ष साहले भने ‘मधेसको चेतना स्तर अझै न्यून रहेकाले गरिब, बिपन्नका लागि गर्न खोजिएका कामहरु गर्न समेत अप्ठयारो परिरहेको छ ।’ अध्यक्ष साहले हरवा चरवाको ज्यालाको विद्यमान अवस्था, गर्न सकिने काम लगायतको विषयमा गाउँपालिकालाई लिखित सुझाव आए त्यसकै आधारमा काम गरिने बताए ।
नीति बनाएर सम्बोधन 
अन्तक्र्रियामा एक्सनएड नेपालका प्रतिनिधि शिवनारायण चौधरीले गाउँपालिकाले हरवा चरवाको सवाल सम्बोधन गर्न नीति बनाएर अघि बढ्नु पर्ने सुझाव दिए । ‘नीति बिना ठोस काम हुन सक्दैन’ चौधरीले भने ‘श्रम ऐनमा गरिएको व्यवस्था अनुसार स्थानीय नीति बनाएर अगाडि बढ्दा कृषि मजदुर, हरवा चरवा लगायतको माग सम्बोधन गर्न सहज हुनुका साथै उपलब्धिमूलक काम हुन सक्छ ।’


क्लवका कार्यकारी निर्देशक विनोदकुमार विसन्केले आर्थिक रुपले बिपन्न दलित समुदायका हरवा चरवाहरुलाई राज्यले समेत उपेक्षा गरिरहेको चर्चा गर्दै कम्तिमा स्थानीय सरकारले न्यूनतम् ज्याला समान कायम गर्न भूमिका खेल्नु पर्ने औंल्याए । ‘त्यसका लागि श्रम ऐन अनुसार गाउँपालिकामा श्रम डेस्कको स्थापना, बीमा, कामको ग्यारेण्टी गर्न सकिन्छ’ कार्यकारी निर्देशक विसुन्केले भने ।
अन्तक्र्रियामा सहभागी हरवा चरवा अगुवाहरुले गाउँपालिकाले हरवा चरवाको थातथलोको सुरक्षा, आयआर्जन, छोराछोरीको शिक्षा लगायतका काम प्राथमिकतामा राखेर गर्नुपर्ने माग गरे । हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदायको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा मञ्चका केन्द्रीय सचिव मो.कासिम, सदस्य राजवती मण्डल लगायतले हरवा चरवाको समस्या दर्शाएका थिए ।