सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्धको खोप कार्ड अनिवार्य

सिरहा । जिल्ला प्रशासन कार्यालय सिराहाले सेवा लिन आउने सेवाग्राहीहरुका लागि कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाइसकेको कार्ड अनिवार्य गरेको छ ।
सिराहाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले शुक्रबारदेखि लागू हुनेगरी सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाइसकेको कार्ड अनिवार्य गरिएको बताए । जिल्ला प्रशासन कार्यालयमा बिहीबार सम्पन्न जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार सेवा लिन आउँदा कोभिड विरुद्धको खोप कार्ड साथमा ल्याउने वा मोवाइलमा खिचिएको फोटो समेत नभए प्रवेश नै नदिइने निर्णय गरिएको प्रजिअ खड्काले उल्लेख गरे ।
गृह मन्त्रालयको च.नं. १४४२ मिति २०७८ पुस २६ को पत्र अनुसार ७ माघदेखि सार्वजनिक स्थानहरु (कार्यालय होटल, रेस्टुरेण्ट, पार्क) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड हेरे मात्र सेवा दिने निर्देशन भएकाले सोही अनुसार सेवा प्रवाहको व्यवस्था गरिएको जनाइएको छ ।
कति जनाले कुन खोप लगाए ?
केन्द्रका अनुसार जिल्लामा बिहीबारसम्म ४९ पुरुष र ३७ महिलासहित ८६ जना सकृय संक्रमित रहेको र अवस्था सामान्य रहेकाले होम आइसोलेशनमा छन् । जिल्लामा अहिलेसम्म कोभिशिल्ड खोपको पहिलो डोज ८४ हजार सात सय ३८, दोस्रो डोज ४१ हजार नौ सय ९०, भेरोसेलको पहिलो डोज ९४ हजार नौ सय १९ र दोस्रो डोज ७६ हजार दुई सय ४२ जनाले खाप लगाएका छन् ।
त्यस्तै, जन्सन एण्ड जन्सन खोप ४९ हजार छ सय ७८, एस्ट्राजेनेकाको पहिलो डोज ८० हजार चार सय ६० र दोस्रो डोज ३७ हजार ६४ तथा मोडर्नाको पहिलो डोज ७० हजार नौ सय १२ जनाले खोप लगाएका छन् ।