
सिरहा । नक्कली चिकित्सकले शल्यक्रिया गर्दा एकै रातमा तीन शिशुको मृत्यु भएको दुई वर्ष नाघिसक्दा पनि प्रहरीले नक्कली चिकित्सकलाई कानुनी दायरामा ल्याउन सकेको छैन । २०७६ पुस १८ गते राती सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा नक्कली चिकित्सक सुनिल बिराजीले तीन फरक फरक गाउँका तीन गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रममा तीनै जना शिशुहरुको मृत्यु भएको थियो ।
प्रसूति व्यथा लागेर अस्पताल भर्ना भएका तीन गर्भवती महिलाको बिराजीले शल्यक्रिया गरेका थिए । सप्तरीको बलान बिहुल गाउँपालिका ३ दुधैला गाउँकी ३० वर्षीया संगीता साह, सिरहाको औरही गाउँपालिका १ दरहैया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका ३ दिनाजपुर गाउँकी २५ वर्षीया जानकी यादवको शल्यक्रिया गरी प्रसूति गराएको केही घण्टामै शिशुको मृत्यु भएको थियो ।
बिराजी अझै फरार
तीन नवजात शिशुको मृत्यु भएपछि सप्तरीको माधोपुर ६ घर भई सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा कार्यरत चिकित्सक बिराजी त्यही राती फारर भएका थिए । त्यसयता उनको खोजतलाश गरिरहेको भएपनि पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । सिरहा जिल्ला आदालतबाट बिराजीलाई पक्राउ गर्न पक्राउ पूर्जी जरी भइसकेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपन कुमार दाहाल बताउँछन् ।
बिराजी मेडिकल काउन्सिलको परीक्षा समेत उत्तिर्ण नगरेका नक्कली चिकित्सक भएकाले उनी कानुनको नजरमा हत्यारा नै भएको बताउँछन्, प्रहरी नायव उपरीक्षक डा. दाहाल । आफू आउनु पहिलेका इञ्चार्जले त्यतिबेलै किन पक्राउ गरेनन् भन्ने आफूले नबुझेको उनको भनाई छ । बाहिरी रुपमा फरार रहेका बिराजी भने प्रहरीको आँखा छलेर स्थानीय अस्पतामा काम गरिरहेको बताइन्छ ।
गरियो छानबिन, भएन कारबाही
शल्यक्रियापछि जन्मिएका तीन नवजात शिुशुको एकै रातमा मृत्यु भएपछि स्थानीय प्रशासनले छानबिन समिति गठन गरी अनुसन्धान गरेको थियो । शल्यक्रिया गरी जन्मिएका तीन नवजात शिशुको अस्पतालको लापर्वाहीले मृत्यु भएको भन्दै पीडित परिवारले अस्पतालमा प्रदर्शन गरेपछि स्थानीय प्रशासनले छानबिन समिति गठन गरी अनुसन्धान गरेको भएपनि प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।
लहानस्थित इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्री र स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव सदस्य थिए । समितिले अस्पतालको दर्ता र नवीकरण, शल्यक्रियामा संलग्न चिकित्सकको मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र र लापरबाहीको विषयमा छानबिन गरेको बताइएको छ । समितिले पनि प्रतिवेदनमा शल्यक्रियामा संलग्न अस्पतालका चिकित्सक डा. सुनिल विराजी नेपाल मेडिकल काउन्सिलमा समेत दर्ता नरहेको औंल्याएको थियो ।