जनमत पार्टीको बृहत् किसान र्‍याली

सिरहा । किसान हकहितका लागि किसान विधेयकसहित विभिन्न ११ बुँदे माग पूरा गर्न दवाव दिंदै सिके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार सिरहासहित विभिन्न जिल्लामा बृहत् किसान र्‍याली गरेको छ ।
जिल्लाका विभिन्न ठाउँबाट हलोेजुवा, कुटो कोदालोसहित आएका किसानहरुको र्‍यालीलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले किसान आन्दोलनको माग पूरा गर्न किसान विधेयक ल्याउनु पर्ने बताए । ‘मलखाद र बिउबिजन माग्ने किसानमाथि सरकारले गोली चलाएर सरकार किसान विरोधी बन्दै गएको पुष्टि गरेको छ’ राउतले आरोप लगाए ।


स्थानीय तहमा मौलाउँदै गएको भ्रष्टारतर्फ संकेत गर्दै उनले स्थानीय सरकार प्रमुखहरूलाई महाभारतको जरासंध भएको बताए । ‘महाभारतमा बलरामले हलो उचालेर जरासंधको अन्त्य गरे’ उनले भने ‘स्थानीय सरकारमा मौलाएको जरासंध प्रवृत्ति किसानले आफ्नो शक्ति देखाएर अन्त्य गर्नुपर्छ ।’
यस्ता छन् जनमतले उठाएका किसानका माग
जनमत पार्टीले उच्च स्तरीय समिति गठन गरिनु पर्ने, समयमै मलखाद र बीउविजनको व्यवस्था गरिनु पर्ने, निःशुल्क बिजुलीको व्यवस्था गरी सिंचाईको प्रबन्ध गरिनु पर्ने, हावाहुरी र वर्षाका कारण क्षति भोगेका किसानलाई राहतको व्यवस्था गरिनु पर्ने माग गरेको छ ।
त्यस्तै, कृषि उत्पादनको उचित मूल्य निर्धारण गरिनु पर्ने, उखु किसानको बक्यौता रकम भुक्तानी गरिनु पर्ने, किसानलाई कार्डको व्यवस्था गरी सोही कार्डको आधारमा सीमा नाकाको बजारबाट सामान ल्याउन पाउने व्यवस्था गरिनु पर्ने, किसानलाई पेन्सनको व्यवस्था गरिनु पर्ने, स्वतः बाली बीमाको व्यवस्था गरिनु पर्ने माग गरेको छ ।