नेपाली श्रमिकलाई ठगहरुबाट बच्न दूतावासको आग्रह

काठमाडौं । खाडी मुलुक साउदी अरबको राजधानी रियादस्थित नेपाली दूतावासले नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । पछिल्लो समय साउदीमा विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरुलाई झुक्याएर ठगी गर्नेहरु बढ्दै गएको पाइएको भन्दै त्यस्तो ठगीबाट बच्न दूतावासले आग्रह गरेको हो ।
दूतावासको सूचना अनुसार साउदीमा बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठग्ने क्रम बढ्दै गएको छ । दूतावासका अनुसार ठगहरुले अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुबाट ट्राभल डकुमेण्ट, फोटोकपी, सिसिएमसी फारम भरेको खर्च लगायतका नक्कली शीर्षकमा ठगी हुने गरेको छ । दूतावासबाट निःशुल्क प्रदान गरिने सेवाका लागि पनि दूतावास बाहिर बसेर श्रमिकहरुलाई फकाएर रकम असुल्ने गरेको दूतावासले जनाएको छ ।
आफूलाई समाजसेवी भन्नेहरुले नै नेपाली श्रमिकहरुलाई ठग्दा वास्तविक समाजसेवीहरुको कामको अवमूल्यन हुने भन्दै दूतावासले आपत्ति जनाएको छ । दूतावासले सूचनामार्फत् कसैले त्यस्तो ठगी गरेको पाइए तत्काल दूतावास वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।