तलब नपाएपछि अफगानिस्तानका राजदूतले त्यागे पद

काठमाडौं । चीनका लागि अफगानिस्तानका राजदूत जाविद अहमद कइमले महिनौंदेखि तलब नपाएको भन्दै पद त्याग गरेका छन् । गत वर्षको अगस्तमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि पद त्याग गरेका कइमसहित चीनको राजधानी बेइजिङ्स्थित अफगान कुटनीतिज्ञ तथा अन्य कर्मचारीले तलब पाएका छैनन् ।
कइमले सोमबार ट्वीटरमा १ जनवरीमा एउटा हस्तान्तरण पत्र पोस्ट गर्दै बेइजिङ्स्थित दूतावासका कैयौं कुटनीतिज्ञ फर्किसकेको जनाएका छन् । पत्रमार्फत् कइमले सन् २०२१ को अगस्टदेखि आफूले तलब नपाएको जनाएका छन् ।
कइमले पत्रमा भनेका छन् ‘मैले कैयौं पटक फोनमा कुरा गरिसकेको छु, म २ जनवरीदेखि राजदूत पद छाड्दैछु । परिस्थिति र बाध्यतालाई हेर्ने हो भने अफिसमा कहिले आउन पाउँछु भन्ने प्रष्ट छैन । त्यसैले म हस्तान्तरण पत्र पोस्ट गरिरहेको छु ताकि बेइजिङ्स्थित अफगानिस्तान दूतावासमा कुनै जटिलता बिना अर्को राजदूत आउन सकोस् ।’