खाद्यमा धान बेच्न किसानभन्दा व्यापारीको घुइँचो

सिरहा । लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयमा धान बिक्री गर्न किसानभन्दा व्यापारीको घुइँचो लागेको छ ।
प्राथमिक धान खरिद समितिको १६ पुसको निर्णय अनुसार २२ पुसदेखि किसानहरुबाट धान खरिद गर्ने निर्णय गरिएपछि शाखामा धान बेच्न किसानभन्दा बढी व्यपारीहरुको घुइँचो लागको हो । धान बिक्री गर्न आएका व्यापारीहरुको धान लोड भएको ट्याक्टर पूर्व पश्चिम सडकसँगै रहेको खाद्यको शाखादेखि उत्तर करिब दुई किलोटिरसम्म लाइन लागेको छ ।
खरिद समितिको निर्णय अनुसार शाखाको प्राङ्गणमा खोलिएको खरिद केन्द्रमा धान बेच्न सिरहा, सप्तरीका किसानहरु आएको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले जानकारी दिए । धान बेच्न आउनेहरुको नागरिकता, सम्बन्धित स्थानीय तहको सिफारिश अनुसार धान खरिद गरिरहेको प्रमुख रेग्मीले बताए ।
शाखाले यो पल्ट १५ हजार क्वीण्टल सोना मन्सुली र तीन हजार क्वीण्टल जिरा धान (कतरनी) तीन हजार क्वीण्टल खरिद गर्ने लक्ष्य रहेको उनले बताए । ‘खरिद समितिको निर्णय अनुसार सोना मन्सुली धान प्रति क्वीण्टल दुई हजार नौ सय दुई रुपैयाँ, जिरा धान (कतरनी) प्रति क्वीण्टल तीन हजार एक सय पचार रुपैयाँ) को दरले खरिद गरिरहेका छौं’ उनले भने ।
गत आर्थिक वर्ष २०७७÷०७८ मा २२ हजार पाँच सय ७१ क्वीण्टल ४५ किलो सोना मन्सुली धान गरिद गरेको शाखाले जनाएको छ । धान बिक्री गर्न आउने एक किसानबाट एक पटक वा पटक पटक गरी एक सय क्वीण्टलभन्दा बढी धान खरिद नगरिने उनले बताए ।