एमाले सिरहामा पुनः मण्डल अध्यक्ष, एक सय ३५ सदस्यीय जिल्ला कमिटि

सिरहा । लहानमा नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तर्गत दोस्रो दिन बन्द सत्रले सोमबार विवर्तमान जिल्ला अध्यक्ष चण्डेश्वर मण्डललाई निर्विरोध रुपमा पुनः जिल्ला अध्यक्ष चयन गरेको छ ।
स्थानीय मारवाडी सेवा सदनमा सम्पन्न बन्द सत्रले सोमबार अपरान्ह निर्विरोध रुपमा मण्डल अध्यक्ष रहेको एक सय ३५ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । पुनः जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित मण्डलका अनुसार जिल्ला कमिटिमा उपाध्यक्ष डा. नविन यादव, सचिव उग्रनारायण यादव, उपसचिवद्वय श्यामकुमार श्रेष्ठ र शिवशंकर महतो चयन भएका छन् । एमालेको विधान अनुसार जिल्ला कमिटिमा कोषाध्यक्षको व्यवस्था नरहेकाले पदाधिकारीबाहेक बाँकी ३१ जना जिल्ला कमिटि सदस्य चयन भएका हुन् ।
एमाले महासचिव शंकर पोखरेलले लहान नगरको सभाकक्षमा आइतबार दिउँसो जिल्ला अधिवेशनको उद्घाटनपछि त्यही राती स्थानीय मारवाडी सेवा सदनमा संचालन गरिएको बन्द सत्रले राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै नेतृत्व चयनका लागि निर्वाचन प्रकृया समेत थालिएको थियो ।
एमालेबाट विद्रोह गरी बरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सिरहा एमालेका अध्यक्ष प्रमोदकुमार यादव, उपाध्यक्ष उत्तरबहादुर जर्घा, सचिव योगेन्द्र सिंहसहित बहुमत पदाधिकारी र जिल्ला कमिटि सदस्यहरु एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।