सिरहा । कोरोना महामारीको समयमा गरिब बिपन्नलाई राहत बाँडदा बाँड्दै स्वयम् संक्रमित भएर गत जेठमा श्रीमती संगिता कर्माचार्यको स्मृतिमा लहानका समाजसेवी महेश चौधरीले गरिब बिपन्नको सेवालाई निरन्तरता दिएका छन् ।
नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ का सभापति समेत रहका चौधरीले संगीता कर्माचार्य स्मृति प्रतिष्ठानमार्फत् शीतलहरको बेलामा कठिनाई झेलिरहेका सिराहाको लहान नगरपालिका क्षेत्रका गरिब, बिपन्न, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकालाई न्यानो कम्बल बाँडिरहेका छन् ।
कोरोना महामारीको समयमा काम खोसिएर चुलो बाल्न समस्या भोगिरहेका गरिब बिपन्नलाई व्यक्तिगत रुपमा खाद्य सामग्री बाँडेर चर्चा बटुलेका समाजसेवी चौधरीले व्यक्तिगत खर्चमा २२ पुसमा दुई सय थान कम्बल बाँडेका छुन् । उनले लहान १२ को भोटियाटोलमा ४०, १५ को ढोढनामा ६०, २२ सिसवनीमा ५० र २४ को माणिकदहस्थित दलित बस्तीमा ५० थान गरी दुई सय थान कम्बल बाँडेको बताए ।
‘पुसको सिरेटोमा जाडोले ज्यानै जाला जस्तो भएको थियो’ ढोढनाकी ७३ वर्षीया पानोदेवी सदायले भनिन् ‘यस्तो जाडोमा पाएको न्यानो कम्बलले ज्यान भने जोगिने भयो । समाजसेवी चौधरीले दिएको कम्बल पाएपछि खुशी हुँदै स्थानीय ७४ वर्षीया शनिचरी सदायले भनिन् ‘जाडोमा परालमा गुटमुटिएर सुत्नु पर्ने बाध्यता न्यानो कम्बलले हटाएको छ ।’
गरिब दुःखीको सेवालाई निरन्तरता
कोरोना महामारीको समयमा गरिब बिपन्नलाई राहत बाँडदा बाँड्दै स्वयम् संक्रमित भएर गत २२ जेठमा श्रीमती संगिता कर्माचार्यको निधन भएयता समाजसेवी चौधरीले हरेक महिनाको २२ गते नगरको कुनै न कुनै ठाउँमा गरिब, बिपन्न, असहाय, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरीलाई व्यक्तिगत खर्चमा खाद्य सामग्री, लत्ताकपडा, पोषिलो खानेकुरा बाँड्दै आएका छन् ।
‘अप्ठ्यारोमा परेका गरिब, बिपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएकी श्रीमतीको कोरोना संक्रमणको कारणले निधन भएपछि उनको परोपकारी कामलाई प्रतिष्ठानमार्फत् निरन्तता दिन सहयोग अभियानलाई जारी राखेको हुँ’ समाजसेवी चौधरीले भने ‘श्रीमतीको निधन भएको २२ गते हरेक महिना नगर क्षेत्रको कुनै न कुनै वडामा गरिब, बिपन्न परिवारका गर्भवती, सुत्केरीलाई सहयोग गर्ने योजना अनुरुप अभियानलाई निरन्तरता दिनेछु ।’
कोरोनाको पहिलो लहर शुरु भएदेखि नै सरकारले लगाएको लकडाउन अवधिमा कर्माचार्यको अगुवाईमा नगर क्षेत्रका २४ वटै वडामा करिब चार हजार जनालाई चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री बाँडेको चौधरीले बताए ।