स्रोत नखुलेको ३८ लाख बढी रुपैयाँसहित पक्राउ

धनुषा । दक्षिणी धनुषाको सीमावर्ती क्षेत्रमा पर्ने नगराइनबाट सशस्त्र प्रहरी बलको गस्ती टोलीले स्रोत नखुलेको ३८ लाख बढी रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प नगराइनका सशस्त्र प्रहरी निरीक्षक संजय बरालका अनुसार स्रोत नखुलेको रकमसहित लक्ष्मिनियाँ गाउँपालिका १ का २३ वर्षीय अमितकुमार यादवलाई बिहीबार पक्राउ गरिएको हो । प्रदेश २–०२ ००१ प ०४७७ नम्बरको मोटरसाइकलको ट्याङ्कीमा लुकाएर ल्याउँदै गरेको ३८ लाख ३५ हजार रुपैयाँसहित यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक बरालले बताए ।
सीमावर्ती भारत नजिकै पर्ने जटही नाका हुँदै मोटरसाइकल चढेर नेपालतर्फ आउँदै गरेका यादवमाथि शंका लागेपछि रोकेर चेकजाँच गरिएको उनले बताए । ‘मोटरसाइकलको ट्याङ्कीमा बिर्कोको सट्टा नटबोल्ट लागेको देखिएपछि थप शंका लागेर खोल्दा रकम बरामद भएको हो’ उनले भने । मोटरसाइकलको ट्याङ्कीमा एक हजार दरका २७ लाख, पाँच सय दरका ११ लाख, एक सय दरका ३० हजार र ५० को पाँच हजार नोट गरी ३८ लाख ३५ हजार रुपैयाँ मोटरसाइकलको ट्यांकीबाट बरामद भएको उनले बताए ।
पक्राउ परेका यादवले उक्त रकम कहाँबाट ल्याएको भन्ने नखुलेको भएपनि हुण्डी कारोबारको रकम रहेको आशंका गरिएको छ । पक्राउ परेका यादव हुण्डी कारोबारी समेत रहेको बताइएको छ ।