सिरहा । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अघि विवादका कारणले स्थगित गरिएका १६ जिल्लाको अधिवेशन १९ दिनपछि सारेर १५ माघ पुर्याइएको छ ।
यसअघि २७ पुसमा गर्ने भनिएको स्थगित जिल्ला अधिवेशनहरु १२ पुसमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णय अनुरुप १५ माघका लागि सारिएका हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ १२ गते सातवटै प्रदेशमा हुन गइरहेको १९ पदको राष्ट्रियसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन १५ माघका लागि सारिएको जनाएका छन् ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन गर्न बाँकी रहेकाले राष्ट्रियसभा सदस्यको निर्वाचन लगत्तै १५ माघमा गरिने विज्ञप्तिमा उल्लेख छ ।