ज्यान मार्ने धम्की दिने प्रहरी उपरीक्षक पाण्डे निलम्बित

सिरहा । सत्तारुढ दल नेपाली कांग्रेस सिराहाका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई आफ्नो सरुवा गराएको भन्दै ज्यान मार्ने धम्की दिएको आरोप लागेका सिराहाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् ।
कांग्रेस सभापतिलाई धम्की दिएपछि छानबिनमा परेका प्रहरी उपरीक्षक पाण्डेलाई मंगलबार बेलुका प्रहरी हेडक्वार्टरले निलम्बन गरेको हो । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले व्यवसायिक आचरण विपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । ’प्रहरी उपरीक्षक पाण्डेमाथि अनुसन्धान जारी रहेकाले त्यसलाई सहयोग पुर्याउन तीन महिनाका लागि निलम्बन गरिएको हो ।’ पाण्डे प्रहरी मुख्यालय तानिएपछि सिरहा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक अर्जुन तिमल्सिना आएका छन् ।
जिल्ला आएको वर्ष दिन नपुग्दै हेडक्वार्टर तानिएपछि प्रहरी उपरीक्षक पाण्डे सोमबार बिहान करिब डेढ बजेतिर जिल्ला प्रहरीकै भ्यानमा धनगढीमाई नगरपालिका ९ जिरोमाइलस्थित सभापति यादवको घरमा आएर ज्यान मार्ने धम्की दिएको जिल्ला सभापति यादवको आरोप छ । प्रहरी प्रमुखले घरमै आएर ज्यान मार्ने धम्की दिएको भन्दै कांग्रेसका जिल्ला सभापति यादव र उपसभापति उपेन्द्र यादवले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अमर्यादित व्यवहार प्रदर्शन र ज्यान मार्ने धम्की दिने प्रहरी उपरीक्षक पाण्डेलाई तत्काल बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही गर्न माग गरेका छन् ।