
सिरहा । अर्नामा गाउँपालिका २ अर्नमा लालपुरका बासिन्दाले स्थानीय विकास निर्माण सम्बन्धी काममा गाउँपालिकाले अनियमितता गरेको आरोप लगाएका छन् ।
अर्नमा गाउँपालिका २ मा पर्ने मैनाबती खोलाको पक्की पुल, झोलुङ्गे पुल निर्माणमा अनियमितता लगायत गाउँपालिकाको सवारी साधनको दुरुपयोग भइरहेको स्थानीयको आरोप छ । स्थानीय बासिन्दाले पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा समेत गाउँपालिकाले अनियमितता गरेको आरोप लगाएका छन् ।
विरोध गर्न पाउनु सेवाग्राहीको अधिकार
गाउँपालिकाले विकास निर्माण सम्बन्धी काममा अनियमिताा गरेको आरोपको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले सेवाग्राहीको चित्त नबुझेको कुरामा विरोध गर्न पाउने अधिकार रहेको बताए । ‘जनताले तिरेको करबाट नै सरकारी कर्मचारीले सेवा सुविधा खाइरहेका छन्’ प्रमुख प्रशासकीय अधिकृत सिंहले भने ‘गाउँपालिकाले गर्ने हरेक विकास निर्माण सम्बन्धी कामको बारेमा जनताले बुझ्न पाउने अधिकार हो ।’
आफू प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्नमा आएपछि सबै विकास निर्माण सम्बन्धी काम टेण्डर प्रकृयामार्फत् भइरहेको उनले बताए । ‘तोकिएको मापदण्डभित्र पर्ने कम्पनीले नै ठेक्का पाएर काम गरेका छन्’ उनले भने ‘मैनाबत्ती पुल निर्माणको ठेक्का र निर्माण प्रकृया म आउनुभन्दा अगावै शुरु भएकाले मैले बोल्नु उचित हुँदैन ।’
संघर्ष समितिका अगुवा शशिकपुर महतोले भने गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमै अनियमिमता भइरहेको जिकिर गरेपनि कुन निर्माणमा कति र कसरी अनियमितता भयो भन्ने बारेमा चाहिं खुलाउन सकेनन् । आफूहरुले उठाएको अनियमितताको छानबिन अगाडि नबढाए गाउँपालिका कार्यालयमा तालाबन्दीसहित चरणबद्ध आन्दोलन गर्ने महतोले बताए ।