काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन ‘समाजवादउन्मुख समृद्धि’ को कार्यदिशा तय गर्दै आइतबार राती सम्पन्न भएको छ । पार्टीको संशोधित विधानमा सहमति हुन नसके निर्वाचन पद्धति अंगीकार गर्ने उल्लेख भएपनि निर्वाचन प्रकृयामा प्रवेश नै नगरी केन्द्रीय समिति चयन गर्दै महाधिवेशन सम्पन्न भएको हो ।
११ पुसदेखि राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशन अन्तर्गत आठौं दिन आइतबार विधान अनुसार दुई सय ९९ सदस्यीय केन्द्रीय समिति बनाइनु पर्ने भएपनि खुला र समानुपातिक पद्धतिबाट दुई सय ३७ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । केन्द्रीय समितिमा ५० प्रतिशत समानुपातिक कोटा सुरक्षित गरिएकाले केन्द्रीय सदस्य चयन गर्दा क्लस्टर मिलाउन कठिन भएपछि ६२ पद रिक्त राखिएको छ । रिक्त कोटामा केन्द्रीय समितिले १५ र अध्यक्षले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने विधानमा व्यवस्था छ । महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिकातर्फबाट दुई सय ३७ सदस्यीय केन्द्रीय सदस्यको सूची पेश गरेपछि अनुमोदन भएको थियो ।
क्लस्टर अनुसार चयन गर्न सकस
माओवादीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा व्यवस्था गरिएको क्लस्टरमध्ये खस–आर्य ४८, दलित १६, मुस्लिम दुई, मधेसी सात, आदिवासी ४१, थारू नौ र पिछडिएको क्षेत्रबाट दुईजना गरी कुल एक सय २५ जना समानुपातिक र एक सय १२ खुलाबाट केन्द्रीय सदस्य चयन भएका छन् । विधान अनुसार केन्द्रीय समिति दुई सय ९९ हुँदा खुलातर्फ एक सय ४५ र समानुपातिकतर्फ एक सय ५४ जना रहने व्यवस्था छ । दुई सय ९९ सदस्यीय केन्द्रीय समितिमा समानुपातिकबाट २९ र खुलातर्फ ३३ केन्द्रीय सदस्य बन्दसत्रको हलबाट चयन हुन सकेनन् ।
विधान अनुसार नवनिर्वाचित केन्द्रीय समितिको सोमबार बस्ने पहिलो बैठकबाट पदाधिकारी चयन गरिने बताइएको छ । समानुपातिकतर्फ क्लस्टरको संरचना अनुसार माओवादीको केन्द्रीय कमिटीमा खस–आर्यतर्फ– ४५ जनामध्ये पुरुष– १२, पुरुष युवा– तीन, महिला– २४ र महिला युवा– ६ जना, दलिततर्फ– २२ मध्ये पुरुष– ६, पुरुष युवा– एक, महिला– १२ र महिला युवा– तीन तथा मुस्लिमतर्फ– सातमध्ये पुरुष– एक, पुरुष युवा– एक, महिला– चार र महिला युवा– एक जना रहने व्यवस्था छ ।
मधेसीतर्फ– २३ जनामा पुरुष– ६, पुरुष युवा– एक, महिला– १३ र महिला युवा– तीन, आदिवासी–जनजातितर्फ– ४३ जनामा पुरुष– ११, पुरुष युवा– तीन, महिला– २३ र महिला युवा– ६ तथा थारूतर्फ– १० जनामा पुरुष– दुई, पुरुष युवा– एक, महिला– ६ र महिला युवा– एकजना रहने व्यवस्था छ । यसबाहेक अपांगतातर्फ– दुईमा पुरुष– एक र महिला– एक तथा पिछडिएको क्षेत्रतर्फ– दुईमध्ये पुरुष– एक र महिला– एकजना हुने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने भनिएको छ तर, कतिपय क्लस्टरमा राख्ने केन्द्रीय सदस्य नहुँदा त्यसलाई पछि पूर्ति गर्ने भन्दै खाली राखिएको छ ।
तीन सय ७५ सदस्यीय केन्द्रीय समिति हुने
माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको संख्या बढाएको छ । केन्द्रीय समितिमा दुई सय ९९ जना मिश्रित निर्वाचन प्रणालीबाट निर्वाचित हुने, १५ प्रतिशत (४५ जना) केन्द्रीय समितिबाट मनोनित हुने व्यवस्था रहेको विधानमा पार्टी अध्यक्षले पनि १० प्रतिशत (३० जना) मनोनित गर्दा केन्द्रीय समितिमा रहनेको संख्या बढ्ने भएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठ, केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष पेसल खतिवडा र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले पेस गरेका छुट्टाछुट्टै प्रतिवेदन पनि महाधिवेशनको बन्दसत्रबाट पारित भए । तीनवटै आयोगमा २५–२५ सदस्य रहने गरी पुरानै नेतृत्वलाई आयोगमा निरन्तरता दिइएको छ ।