
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा सहमतिको आधारमा नेतृत्व चयनको प्रयास जारी छ । निर्वाचन प्रक्रिया स्थगित गरेर केन्द्रीय नेताहरु छलफलमा जुटिरहेका छन् भने अध्यक्ष प्रचण्ड आइतबार बिहान पनि नेताहरुसँग परामर्शमा व्यस्त छन् ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेकाले केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको जनाएको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेको विधान अनुसार अब पार्टी केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ ।
पार्टीको विधान अनुसार दुई सय ९९ सदस्यीय केन्द्रीय समिति खुलातर्फबाट एक सय ४५ जना र समानुपातिकबाट एक सय ५४ जना निर्वाचित गरिनु पर्नेछ ।
कुन क्लष्टरबाट कति ?
पार्टीको विधान अनुसार समानुपातिकतर्फ खस आर्यबाट निर्वाचित हुनुपर्ने ४५ जनामध्ये पुरुष १२, पुरुष युवा तीन, महिला २४ जना र महिला युवा छ जना निर्वाचित हुनुपर्ने छ । दलिततर्फ २२ जना निर्वाचित हुनुपर्ने मध्ये पुरुष छ जना, पुरुष युवा एक जना, महिला १२ जना र महिला युवा तीन जना रहने छन् ।
त्यस्तै, मुस्लिमतर्फ सात जनामध्ये पुरुष एक जना, पुरुष युवा एक जना महिला चार जना र महिला युवा एक जना, मधेसीतर्फ २३ जनामध्ये पुरुष छ जना, पुरुष युवा एक जना, महिला १३ जना र महिला युवा तीन जना रहनेछन् । आदिवासी जनजातिर्फ ४३ जनामध्ये पुरुष ११ जना, पुरुष युवा तीन जना, महिला २३ जना र महिला युवा छ जना रहनेछन् ।
थारुतर्फ १० जना निर्वाचित हुनुपर्ने मध्ये पुरुष दुई जना, पुरुष युवा एक जना, महिला छ जना र महिला युवा एक जना, अपाङ्गता भएका दुई जनामध्ये पुरुष र महिला १–१ जना, पिछडिएको क्षेत्रतर्फ पनि दुई जनामध्ये पुरुष र महिला १–१ जना निर्वाचित हुनेछन् । समानुपातिक पद्धतिबाट विभिन्न क्लष्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको छ ।
सहमति नभए निर्नाचन
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारको बन्दसत्रमा सहमति नभए निर्वाचन प्रक्रियामा जाने घोषणा गरेपछि सहमतिको प्रयाससँगै निर्वाचनको तयारी समेत जारी रहेको माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । शनिबार राति सार्वजनिक संशोधित निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यसपछिका अन्य प्रक्रिया पूरा गरी साँझ ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदानको कार्यक्रम निर्धारण गरिएको छ ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सातौं दिन पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीबेरका लागि स्थगित भएको बन्द सत्र पुनः केहीबेर बसेर स्थगित भएको थियो । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङ्ले जवाफ दिएपछि सुझाव समेत समेट्ने गरी विधान मस्यौदा पारित भएको थियो ।
दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्तावेज, विधान मस्यौदा सर्वसम्मतले पारित भइसकेपछि महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुने जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने र सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिका माध्यमबाट कमिटी चयन हने समेत बताएका छन् ।