क्यान्सर केयर सेन्टरलाई ५० लाखको सामान हस्तान्तरण

सिरहा । नेपाल अर्बुद्ध रोग निवारण संस्था सिराहा शाखाद्वारा पछिल्लो १० वर्षदेखि लहानमा संचालित लहान क्यान्सर केयर सेन्टरमा अत्याधुनिक प्रयोगशाला स्थापना गर्न करिब ५० लाख रुपैयाँ मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।
संस्थाका केन्द्रीय कार्यबाहक अध्यक्ष महेश श्रेष्ठ, महासचिव विमल होडा, निवर्तमान अध्यक्ष इश्वर श्रेष्ठको टोलीले शुक्रबार जिल्ला सभापति तथा सेन्टर प्रमुख अशोकलाल अमात्यलाई प्रयोगशालाका सामग्री हस्तान्तरण गरेका हुन् । सेरो ल्यावका किरण श्रेष्ठको सौजन्यमा केन्द्रीय कार्यालयमार्फत् सेन्टरमा प्रयोगशाला संचालन गर्न सेमिअटो एनालाइजर, माइक्रोस्कोप, सेन्ट्रीफ्युज, हेमाटोलोजी मेसिन, माइक्रोपिपेट, टिप्स, इन्कुवेट लगायत ११ किसिमका सामग्री प्राप्त भएको प्रमुख अमात्यले बताए ।
लहान नगरपालिकाले ७ नं. वडामा उपलब्ध गराएको दुइ तले भवनमा संचालित सेन्टरमा ‘हरेक महिनाको हरेक शनिबार’ क्यान्सर जाँच अभियान’ थालनी भएपछि सिरहा, सप्तरी लगायतका जिल्लाबाट आउने बिरामीको सुविधालाई मध्यनजर गर्दै प्रयोगशाला सम्बन्धी सामग्री हस्तान्तरण गरिएको महासचिव होडाले बताए । ‘सामग्री हस्तान्तरणपछि संचालन हुने प्रयोगशाला जाँच न्यूनतम् शुल्कमा गरिने छ’ महसचिव होडाले भने ।
सेन्टरलाई २० लाखदेखि एक लाख डलरसम्म सहयोग
लहान क्षेत्रका उद्योगी, व्यवसायी तथा समाजसेवीहरुको पहलमा भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा १० फागुन २०७० मा विधिवत् स्थापना गरिएको सेन्टरले पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्थापना कालदेखि नै नियमित रुपमा प्यापस्मियर, स्तनको क्यान्सर जाँच गर्दै आएको अध्यक्ष अमात्यले बताए ।
करिब २८ वर्षकै उमेरमा क्यान्सर रोगले थलिएर निधन भएकी आमा पानोदेवी महतोको स्मृतिमा लहान ३ घर भएका कृषि फर्म संचालक चन्द्रनारायाण कुशवाहाले सेन्टर संचालनका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
त्यस्तै, परोपकारी संस्था लायन्स इन्टरनेशनलले ३२५ ए २ मार्फत् लायन्स क्लव अफ लहान सिटीले सेन्टरलाई क्यान्सर रोगको पहिचान र उपचारका लागि एक लाख डलर बराबरको उपकरण उपलब्ध गराउने सम्झौता भएको छ । लहान नगरपालिकाले लहान क्यान्सर अस्पतालका लागि १८ नं. वडा भदैयाको पकडियागढमा कार्यपालिका बैठकबाट निर्णय गरी ८ बिघा र स्थानीय समुदायले हकभोग गरिरहेको १२ बिघा एलानी गरी २२ बिघा जग्गा प्राप्त भएको सेन्टरले जनाएको छ ।