सप्तरीमा मालबाहक ट्रकमा आगजनी

सप्तरी । किसानको माग सम्बोधन गराउन भन्दै बिहीबारदेखि अनिश्चितकालीन हाइवे बन्द आह्वान गरेको सिके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार सप्तरीमा मालबालक ट्रकमा आगजनी गरेको छ ।
पूर्व पश्चिम सडकको महुली खण्डमा शुक्रबार अपरान्ह जनमतका कार्यकर्ताले महुली बजार नजिकै गिट्टी बोकेको ना. ६ ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् । शान्तिपूर्ण आन्दोलनलाई प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ । जनमत कार्यकर्ताहरुले किसानको आन्दोलनको नाममा आन्दोलनलाई उग्र बनाउँदै लगेको आरोप लाग्न थालेको छ ।
किसान आन्दोलन भनिएपनि आन्दोलनमा गहुँका लागि अहिलेको समयमा चाहिने मल नपाएर विरक्तिएका किसान सहभागी छैनन्, बरु जनमतका कार्यकर्ताहरु सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।