माओवादी केन्द्रको महाधिवेशन : समूहगत निष्कर्ष प्रस्तुत गरिंदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको बुधबार निष्कर्ष प्रस्तुत गरिंदै छ । महाधिवेशमा सहभागी प्रतिनिधिहरुको २५ वटा समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै बुधबार दिउँसो १ बजेदेखि महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने जनाइएको छ ।
महाधिवेशन प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूहलाई छलफलका लागि बुधबार अपरान्ह १२ सम्मको समय दिइएको छ । बन्द सत्रको पहिलो दिन आइतबार पार्टी अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ्ले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
सात ठाउँमा समूहगत छलफल
माओवादी केन्द्रको बन्दसत्रमा प्रस्तुत अध्यक्ष प्रचण्डको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेज र स्थायी समिति सदस्य देव गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि आइतबारदेखि विभिन्न ठाउँमा समूहगत छलफल गरिएको थियो । प्रज्ञा भवनको सभाको मुख्य भागमा ‘समूह १’ को ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बायाँ समूह २ र ३ का पार्टीका सल्लाहकार समूहको छलफल थियो ।
प्रज्ञा भवनको भानुभक्त हलमा समूह ४ र ५ मा राखिएका प्रदेश १ का प्रतिनिधि, पारिजात हलमा समूह ६ र ७ मा राखिएका प्रदेश २ का प्रतिनिधिहरुले छलफल गरेका छन् । समूह ८ र ९ मा लुम्बिनी प्रदेशका प्रतिनिधिहरु प्रज्ञा भवनको सिद्धिचरण हल, समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधिहरु पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेका छन् । समूह १२ मा रहेको प्रवास प्रदेशका प्रतिनिधिहरु पनि पेरिसडाँडामै छलफलमा जुटेका थिए ।
एवान पार्टी प्यालेसमा समूह १३ र १४ का कर्णाली प्रदेश प्रतिनिधि, समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि, समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधिहरु बुद्धनगरस्थित क्वालिटी बैंक्वेट छलफल गरेका छन् । समूह १९ मा उपत्यका विशेष प्रदेश, समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिको छलफल बिजुली बजारस्थित क्रिष्टल पार्टी प्यालेसमा छलफल गरिएको छ ।
समूह २२ र २३ मा बागमती प्रदेशका प्रतिनिधि र समूह २४ मा आयोगका सदस्यहरुको छलफल काठमाडौं बैंक्वेट थापागाउँमा छलफल गरिएको छ । समूह २५ मा जनवर्गीय संगठन र मोर्चाका इञ्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि सहभागी थिए ।