वर्षासँगै हिमपात, सुदूर पश्चिमका पहाडी जिल्लाका सडक अवरुद्ध

कैलाली । सुदूर पश्चिम प्रदेश अन्तर्गतका पहाडी जिल्लामा मंगलबार रातीदेखि नै वर्षासँगै हिमपात भएको छ । सुदूर पश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ ।
लामो समयपछि हिमपातसँगै वर्षा भएपछि हिउँदे बाली फस्टाउने आशमा जिल्लाका किसानहरु खुसी भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभावर, बजपानी लगायतका क्षेत्रमा वर्षासँगै हिमपात भएको स्थानीयले बताएका छन् ।
सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वर्षासँगै हिमपातपछि भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको हगुल्टे र दशरथ चन्द राजमार्ग अन्तर्गत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको छ । हिमपात हुने क्रम नरोकिएपछि सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार सडक खुलाउन प्रयास भइरहे पनि बाक्लो हिउँका कारण समस्या भइरहेको छ ।
प्रदेशका बाजुरा, बझाङ्, डोटी, दार्चुलाका हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएपछि चिसो बढेको छ । पहाडी जिल्लासँगै मंगलबार राती कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वर्षा भएपछि चिसो बढेको छ । चिसोले वृद्धवृद्धा र बालबालिका प्रभावित हुनसक्ने भन्दै शरीरलाई न्यानो बनाई राख्न चिकित्सकहरुले आग्रह गरेका छन् ।