
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै सर्वसाधरणले देशका विभिन्न भागमा कार्यरत तीन सय ६७ जना प्रहरी विरुद्ध विभिन्न निकायमा उजुरी गरेका छन् ।
प्रहरीको कार्यसम्पादनमा प्रश्न उठाउँदै अनलाइन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा ती उजुरी परेका हुन् । प्रहरी विरुद्ध परेका उजुरी मध्ये एक सय ३८ वटा विषय अझै छानबिन चलिरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले बताए । प्रहरी बरिष्ठ उपरीक्षक कुँवरका अनुसार दुई सय २९ वटा उजुरीको छानबिन सकिएको छ ।
एक हजार एक सय ४५ लाई कारबाही
‘उक्त अवधिमा एक हजार एक सय ४५ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्’ उनले भने ‘तीन जना प्रहरी उपरीक्षक (एसपी), चार जना प्रहरी नायब उपरीक्षक (डिएसपी), १२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ४६÷४६ जना प्रहरी नायव निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) कारबाहीमा परेका छन् ।’ उजुरीको छानबिनको आधारमा तीन सय पाँच जना हवल्दार, छ सय ७५ प्रहरी जवान कारबाहीमा परेका छन् ।
प्रहरीले उक्त अवधिमा एक हजार नौ सय ८० जना प्रहरीलाई पुरस्कृत समेत गरेको छ । पुरस्कृत हुनेहरुमा एक जना प्रहरी नायव महानिरीक्षक (डिआइजी), ६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी), २१ जना प्रहरी उपरीक्षक, ७७ जना प्रहरी नायव उरीक्षक, एक सय ६४ जना प्रहरी निरीक्षक, दुई सय ४६ जना प्रहरी नायव निरीक्षक र दुई सय ८८ जना प्रहरी सहायक निरीक्षक रहेको प्रवक्ता कुँवरले उल्लेख गरे । उक्त अवधिमा चार सय ४१ जना हवल्दार, सात सय ३३ जवान समेत पुरस्कृत भएका छन् ।
पछिल्लो वर्षको तुलानामा पुरस्कार पाउने प्रहरीको संख्या १७ दशमलव १६ प्रतिशत र सजाय पाउनेको संख्या २१ दशमलव २९ प्रतिशतले बढेको प्रहरी प्रवक्ता कुँवर बताउँछन् । कार्यसम्पादनमा प्रश्न उठाउँदै प्रहरी कर्मचारी विरुद्ध पर्ने उजुरीको संख्या ३ दशमलव ६७ प्रतिशतले घटेको उनले बताए ।