सर्लाहीमा प्रहरीको भ्यानमा आगजनी

सर्लाही । प्रहरी चढेको भ्यानको ठक्करले गम्भिर घाइते भएका स्थानीय व्यापारीको मृत्यु भएपछि सर्लाहीको इश्वरपुर नगरपालिकामा स्थानीय बासिन्दाले प्रहरी भ्यानमा आगजनी गरेका छन् ।
प्रहरी चढेको भ्यानको ठक्करले आइतबार राती इश्वरपुर नगरपालिका ५ का व्यापारी २५ वर्षीय रामकुमार महतोको उपचारको क्रममा मृत्यु भएपछि स्थानीय बासिन्दाले नगरपालिका कार्यालय परिसरमा बा. १ झ ७४८२ नम्बरको प्रहरी भ्यानमा आगजनी गरेका हुन् । इलाका प्रहरी कार्यालय हरिपुरको भ्यानमा आगो लगाएपछि सोमबार इश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली र स्थानीय बासिन्दाबीच पटक पटक झडप भएको थियो ।
बैलबास बजारमा फैन्सी पसल संचालन गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य संघ इश्वरपुरले सोमबार दिनभर बजार बन्द गराएको थियो । बजार बन्दको क्रममा पटक पटक झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । आक्रोशित स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय केशरगंजमा ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।