सिरहामा जनमत पार्टीको आन्दोलन, प्रशासनद्वारा निषेधाज्ञा

सिरहा । प्रहरीद्वारा पक्राउ गरिएका किसानको रिहाई लगायत सात बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले आमहड्ताल र चक्काजामलाई निरन्तराता दिएपछि सिराहा प्रशासनले मंगलबार बिहानदेखि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिराहाले सोमबार साँझ निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्दै मंगलबार र बुधबार बिहान ५ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जनमत पार्टीको पछिल्लो केही दिनदेखि जारी आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा अवधिभर कुनै किसिमको भेला हुन, बाहिर हिंडडुल गर्न तथा राजनीतिक सभासहितको गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा (२) र (३) अनुसार पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्र र चोहर्वादेखि जिल्ला सदरमुकाम सिराहा पि.के इन्टरप्राइजेज (पेट्रोल पम्प) सम्मको सडक र उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञा अवधिमा राष्ट्रिय लोकमार्ग र सिराहा चोहर्वा सडक खण्डमा यातायातका साधन सुचारु रहने जनाइएको छ । निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।
तीन दिनदेखि जमतको चक्काजाम
किसानलाई निःशुल्क बाँड्न भण्डारण गरेर राखेको गहुँको बीउ लुटपाटमा संलग्न रहेका आरोपमा प्रहरीले औरही क्षेत्रका १४ जना किसानलाई पक्राउ गरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबारदेखि सिरहामा आमहड्तालसहित चक्काजाम गर्दै आएको छ । आमहड्तालको क्रममा जनमत पार्टी सम्बद्ध कार्यकर्ताले आइतबार दिउँसो सिरहाको नरहा गाउँपालिका ३ को चोहर्वा खण्डमा रोकी राखेको ना.५ख ५५२२ नम्बरको खाली ट्रक जलाएका थिए । आामहड्तालको उल्लंघन गरेर सवारी साधन चलाएको भन्दै उनीहरुले साना ठूला गरी करिब १३ वटा सवारी साधन तोड्फोड गरेका थिए ।
औरही गाउँपालिकाको कृषि शाखाले स्थानीय किसानहरुलाई अनुदानमा बाँड्न भण्डारण गरेर राखेको दुई सय ३७ बोराको एक सय ३४ क्वीण्टल ८० किलोग्राम गहुँको बीउ ६ पुसमा लुटिएको थियो । गहुँको बीउ लुट्न किसानलाई उक्साउनकाु साथै लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले मिथिलेश यादव, सुभाष चौधरी, पटवारी ठाकुर, रुकेश साह, श्याम यादव, उमा महतो, सुरेन्द्र यादव, हरेकृष्ण यादव, सुरेश कामती, देवकुमार मुखिया, रामबृक्ष यादव, बालेश्वर यादव, महेश यादव, हिरालाल यादव लगायतलाई पक्राउ गरेको जनमत पार्टीले जनाएको छ ।
जनमतको सात सूत्रीय माग
किसानमाथि लगाइएको झुठा मुद्दा खारेज वरी किसानलाई रिहा गरिनु पर्ने, सिंचाईका लागि निःशुल्क बिजुलीको व्यवस्था गरी सिंचाईको प्रबन्ध गरिनु पर्ने, समयमै मलखाद र बीउविजनको व्यवस्था गरिनु पर्ने, हावाहुरी, वर्षाका कारण क्षति भोगेका किसानलाई राहतको व्यवस्था गरिनु पर्ने जनमतको माग छ ।
कृषि उत्पादनको बजार मूल्य निर्धारण गरिनु पर्ने, स्थानीय तहमा भएको भ्रष्टाचारको छानबिन गरी कारबाही गरिनु पर्ने मागसहित उक्त पार्टीले पछिल्लो आइतबारदेखि आमहड्तालसहित आन्दोलन गर्दै आएको छ । जनमतले औरही गाउँपालिकामा तालाबन्दी गर्नुका साथै जिल्लामा आमहड्ताल र चक्काजाम गर्दै आएको छ ।