काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) को संघीय राजधानी काठमाडौंमा आठौं राष्ट्रिय महाधिवेशन शुरु भएको छ । माओवादी केन्द्रले पार्टीको पहिलो राष्ट्रिय सम्मेलन भनेपनि अघिल्लो दिन सम्मेलनलाई स्थायी समितिको बैठकले आठांै महाधिवेशनमा रुपान्तरित गर्ने निर्णय गरेपछि आइतबार अपरान्ह कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशनको भव्य उद्घाटन गरिएको छ ।
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग एकता गर्नु गल्ती नभएको बताएका छन् । महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउन नसकिएको विषयमा आत्मसमीक्षा जरुरी रहेको औंल्याए । महाधिवेशनमा छलफल गरिने दस्तावेजमा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित नेपालको ऐतिहासिक पृष्ठभूमि, व्याख्या विश्लेषण रहने उनले बताए । ‘विज्ञान प्रविधिमा चामत्कारिक विकास भएको छ, यसको विश्व अर्थतन्त्र, राजनीति र आपसी सम्बन्धमा कस्तो सम्बन्ध छ, समाजवादलाई के भनेको छ त्यसको विश्लेषण गरेका छौं’ उनले भने ‘समाजवादउन्मुख समृद्धि भनेको के हो, त्यसको विषयमा कार्यनीति प्रस्तुत गरिएको छ ।’
महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रघाती नभएको बताएका छन् । ‘एमसिसी कहाँ छ राष्ट्रघात, मैले कहीं देखेको छैन’ प्र.म. देउवाले भने ‘म पनि नेपालको प्रधानमन्त्री हुँ, मैले किन राष्ट्रघात गरौंला, किन राष्ट्रघाती सन्धि गरौंला ?’ एमसिसी नेपालको हितमा रहेको दावी गर्दै प्र.म. देउवाले सित्तैमा आएको पैसा राम्रोसँग बुझेर, सहमति गरेर यसलाई पास गराउनेछौं ।’
उद्घाटन समारोहमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंश र व्यक्तिको तानाशाही स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले जुन पार्टीमा भए पनि राष्ट्रियताको विषयमा एकताबद्ध हुनुपर्ने औंल्याउँदै भने ‘राष्ट्रियताका नाममा नागरिकलाई दास बनाउने कुरा स्वीकार्य हुँदैन ।’ ‘नियममा बाँधिन नचाहेपछि असफल भइने चर्चा गर्दै उनले नेपालीहरू जुन पार्टीमा भए पनि राष्ट्रियताको विषयमा एकताबद्ध हुनुपर्ने खाँचो औंल्याए । ‘मन र भावना मिलेपछि बाँकी अरु कुरा मिल्दै जानेछ’ उनले भने ‘नेपालका हरेक आन्दोलन एकताबद्ध भएर जाँदा सफल भएको छ, मूल कुरामा सहमति छ भने बाँकी विषय थाती राख्न सकिन्छ ।’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताए । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहमा महासचिव पोखरेलले २०७४ सालको निर्वाचनमा एमाले र माओवादी एउटै घोषणपत्र लिएर जनतामा गएको स्मरण गर्दै भने ‘जनताले हामीलाई विश्वास गरे, त्यसको जगमा जनताको भावनालाई सम्मान गर्दै एउटै पार्टी निर्माण गर्ने अभियानको नेतृत्व गर्यौं, नेकपा गठन गर्यौं तर त्यो एकतालाई, त्यो नेकपालाई रक्षा गर्न सकेनौं ।’ नेकपा गठन इमान्दार प्रयास भएको उल्लेख गर्दै महासचिव पोखरेलले भने ‘नेकपा गठन कुनै गलत कुरा थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो तर त्यसलाई हामीले जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’
महाधिवेशनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा मालेका महासचिव सि.पी. मैनाली, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव सिपी गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ति शाही, लगायतका नेताहरुले महाधिवेशन सफलताको शुभाकमाना मन्तव्य व्यक्त गरेका थिए
१५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय समिति
१५ पुसम्म चल्ने महाधिवेशनले पार्टीको नीति, कार्यक्रम पारित गर्नुका साथै १५ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउँदै छ । माओवादी केन्द्रको विधान अनुसार केन्द्री समितिमा एक जना अध्यक्ष, एक जना बरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
महाधिवेशनमा एक हजार चार सय ८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात् एक सय ४८ जना मनोनित प्रतिनिधि सहभागी छन् । महाधिवेशन आयोजक समितिबाट एक सय ७९, सल्लाहकारबाट एकसय ४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट एक सय २५, केन्द्रीय विभागबाट एक सय दुई, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट आठ सय तीन जना राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जनाएको छ ।