
सिरहा । जिल्लाको औरही गाउँपालिकाले किसानलाई निःशुल्क बाँड्न भण्डारण गरेर राखेको गहुँको बीउ लुटपाटमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबार सिरहामा आमहड्ताल गरेको छ ।
जनमतका कार्यकर्ताहरुले आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व–पश्चिम सडक अन्तर्गत गोलबजार र मिर्चैयामा खण्डमा रोकेर राखिएका सवारी साधनहरु तोडफोड गरेका छन् । जनमत कार्यकर्ताहरुले आमहड्ताल उल्लंघन गरेको भन्दै मिर्चैयामा रोकेर राखिएको बा.अ अ २६६० र प्रदेश– ३ – ०१, ०२३ च ८२९७ नम्बरको कारसहित केही सवारी साधनहरु तोडफोड गरेका छन् ।
गाउँपालिकाको कृषि शाखाले गाउँपालिका क्षेत्रका किसानहरुलाई अनुदानमा बाँड्ने गरी प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा भण्डारण गरेर राखेको दुई सय ३७ बोराको एक सय ३४ क्वीण्टल ८० किलोग्राम गहुँको बीउ ६ पुसमा लुटिएको थियो । गहुँको बीउ लुट्न किसानलाई उक्साएको आरोपमा प्रहरीले ८ पुसमा औरही २ कडहर्वाका मिथिलेश यादवलाई पक्राउ गरेपछि जनमत पार्टी सिरहाले गाउँपालिकामा तालाबन्दी गर्नुका साथै आइतबार जिल्लामा आमहड्तालसहित आन्दोलन गरेको हो । उक्त पार्टीले पक्राउ गरिएका यादवको रिहा नहुञ्जेल गाउँपालिकामा गरिएको तालाबन्दी नखोल्ने र सडक आन्दोलन जारी रहने जनाएको छ ।