
सिरहा । सर्लाही र सिरहाका तीन छुट्टाछुट्टै स्थानमा भएका तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सिरहाको विष्णुपुर गाउँपालिका १ खोरिया टोलमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भई पोखरीमा पस्दा सिरहा कर्जन्हा नगरपालिका १० प्रयागपुरका चालक मनोज कुमार महतोको मृत्यु भएको हो । पल्टिएको ट्याक्टरको धेरै भाग पानीमा पसेकाले नम्बर नखुलेको प्रहरीले जनाएको छ । खाली ट्याक्टर लिएर महतो किन आएका थिए भन्ने नखुलेको इलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टरसँगै पानीमा डुबेर मृत्यु भएका महतोको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ ।
सर्लाहीमा दुई दुर्घटना
सर्लाही जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा शनिबार राती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्व पश्चिम सडक अन्तर्गत ईश्वरपुर नगरपालिका १२ बाँके जंगल खण्डमा नम्बर नखुलेको चार पाङग्रे सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ना. ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा पछाडि बसेका लालबन्दी नगरपालिका ३ बस्ने भिम गुरुङ्को मृत्यु भएको छ । गम्भिर घाइते भएका गुरुङ्लाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पठाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक लालबन्दी ३ बस्ने ४२ वर्षीय जितन चौधरीको लालबन्दीमा उपचार भइरहेको छ ।
त्यस्तै, हरिपुर नगरपालिका ६ लक्ष्मीपुरस्थित नवलपुर–मलंगवा सडक खण्डमा साइकलले ठक्कर दिंदा स्थानीय अहमदजा मियाँकी ५५ वर्षीया पत्नी सैफुल खातुनको मृत्यु भएको छ । बाटो पार गर्ने क्रममा साइकलको ठक्करबाट घाइते भएकी खातुनको जनकपुरस्थित प्रादेशिक अस्पातालमा उपचारका क्रममा मृत्यु भएको सर्लाही प्रहरीका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । प्रहरीले ठक्कर दिने साइकलसहित चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।